काठमाडौं ।
दशरथ रंगशालामा जारी इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ । लेबनान विरुद्ध १- ० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो ।
नेपालका लागि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा चर्चित स्ट्राइकर सावित्रा भण्डारी साम्बाले गरेको प्रहारले जाली चुमेको थियो । यही गोल जितका लागि निर्णयक बन्यो । खेलको ४१ औँ मिनेटमा साम्बाले डी बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानी खेलाडीको खुट्टामा ठोक्किँदै डिफ्लेक्ट भएर जाली चुम्न पुगेको थियो ।
खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको थियो । रश्मी तामाङलाई आराम दिएपछि प्रशिक्षकले साम्बालाई सुरुवातमै उतार्ने निर्णय सही सावित भएको छ । नेपाली प्रशिक्षकले लेबनानविरुद्धको खेलमा निशा थोकर र रश्मीकुमारी घिसिङलाई विश्राम दिए। कीर्गितस्तानविरुद्धको खेलमा निशा घाइते भएकी थिइन् ।
रश्मीलाई आराम दिएपछि चर्चित स्ट्राइकर सावित्रा भण्डारी सुरुवातमै आएर गोल पनि गरिन् । पहिलो खेलमा सावित्रा दोस्रो हाफमा मैदान छिरेकी थिइन् । बिहीबार म्यान्मारसँग फराकिलो हार भोगेको कीर्गिस्तानलाई नेपालले पहिलो खेलमा १–० को झिनो अन्तरले हराएको थियो ।
लिग चरणमा शीर्ष दुई स्थानका टोलीले फाइनल खेल्ने तालिका छ। त्यहीअनुसार नेपाल गोलअन्तरमा पछि परेर दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानमार बिहीबार भएको खेलमा कीर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले हराउँदै फाइनलमा पुगिसकेको छ ।