अपर म्याग्दी–१ को बाँध निर्माण सुरु

केन्द्रभाग मिडिया

म्याग्दी ।

धवलागिरि गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गरे । गाउँपालिका अध्यक्ष पुन, पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरि–४ का वडाध्यक्ष यामप्रसाद घर्तिमगरलगायत जनप्रतिनिधि र स्थानीय अगुवाको उपस्थितिमा बाँध निर्माण कार्यको शुभारम्भ गरिएको हो ।

जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रूपमा बाँधको पक्की संरचना निर्माण सुरु गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए ।

विसं २०८१ भदौ १२ गतेदेखि धवलागिरि–४ छहरीमा सुरु भएको १९८ दशमलव ९० मिटर लामो अडिट नम्बर २ को सुरुङ खनेर थप ५३० मिटर मुख्य सुरुङ निर्माण भइसकेको आयोजनाका प्रबन्ध निर्देशक लक्ष्मण न्यौपानेले बताए । पाँच किलोमिटर ७०० मिटर सुरुङमध्ये केही दिनमा बाँध र मालिका गाउँपालिका–७ भारवाङको आउटलेट तर्फबाट पनि खन्न सुरु गर्ने तयारी गरिएको उनले बताए । रासस

  • ७ फाल्गुन २०८१, बुधबार १६:५६ प्रकाशित