पोखरा ।
कास्कीको मर्दी हिमालमा यो वर्षको पहिलो हिमपात भएको छ ।
पदमार्गका लागि आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको मर्दी हिमालमा हिउँदको अन्तिम समयमा हिउँ परेको हो । हिमपात भएपछि मर्दीका पर्यटन व्यवसायी खुशी भएका छन्।
सोमबारबाट हल्का वर्षा सुरु भएको र मंगलबार हिमपात भएको माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए । मर्दी हिमालमा हिमपात भएपछि पदयात्रामा जाने स्वदेशी तथा विदेशी पदयात्रीसमेत उत्साहित भएका छन्।
पोखरादेखि छोटो समयमै पूरा गर्न सकिने र मर्दी हिमालसहित माछापुर्च्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर पदयात्रामा मिल्ने भएकाले यो पदमार्ग पछिल्लो समय पदयात्रीको रोजाइमा पर्दै आएको छ ।














