म्याग्दी ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ ।
कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब एक सय मिटरमा रसी र खरको गाँज समाएर यात्रा गर्नुपर्ने समस्या रहेको हालै धौलागिरि आधार शिविर पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनले बताए ।
‘बेनी–चिमखोला–घ्याँसीखर्क हुदै सुगुरथलासम्म राहुघाट र सहायक नदीहरुमा निर्माणाधिन जलविद्युत आयोजनाले बनाएको सडकमा चार घण्टा सवारी साधन मार्फत पुग्न सकिन्छ,” उनले भने “कोखेभिर र धौलागिरि भ्यु पोइन्टमा पदमार्ग नहुँदा धौलागिरि आधार शिविरमा पर्यटक पुग्न सकेका छैनन् ।’
दुई ठाउँमा पदमार्ग र राहुघाट नदीको केही ठाउँमा अस्थायी साँघु अथवा स्थायी प्रकृतिका झोलुङ्गे पुल बनाउन सकेमा छोटो दुरीमा पुगिने धौलागिरि आधार शिविर नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास हुने सम्भावना रहेको गर्बुजाले बताए ।
भारतीय सेनामा कार्यरत चिमखोलाका ललित गर्बुजाको अगुवाईमा मण्डली युवा क्लवका पदाधीकारी, पर्यटन ब्यवसायी र सञ्चारकर्मीहरुको टोली गत माघ महिनाको अन्तिम साता समुन्द्रि सतहदेखि चार हजार ५० मिटर उचाईमा रहेको आधार शिविरमा पुगेर फर्किएको थियो ।
पदमार्ग र राहुघाट नदीको पाँच ठाउँमा झोलुङ्गे पुल बनाउन सकेमा सुगुरथलादेखि छ घण्टा पैदलयात्रा गरेर आधार शिविरमा पुग्न सकिने गर्बुजाले बताए । टोलीले पदमार्ग, पुल बनाउन र संकेत चिन्हहरु राख्न वडाका जनप्रतिनिधीहरुलाई सुझाव दिएको छ । रासस














