काठमाडौँ ।
नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई १४ औँ महाधिवेशनमा सघाएका नेताहरूसँग यसबारे राय मागेका हुन् ।
शुक्रबार बिहान देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा देउवाले आफ्नो समूहका नेताहरूसँग एक वर्ष कार्यसमितिको म्याद थपेर पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने विषयमा छलफल गरेका छन् ।
नेता कृष्णप्रसाद सिटौला, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, डा।प्रकाशशरण महत र एनपी साउद सहभागी बैठकमा पार्टीलाई एकढिक्का बनाएर कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको प्रवक्ता डा.महतले जानकारी दिए ।
प्रवक्ता महतले वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने विषयमा पनि कुराकानी भएको बताए । ‘सामान्यतया कांग्रेसको कार्यसमितिको म्याद एक वर्ष थप गरिँदै आएको छ । हामी सहभागी वर्तमान कार्यसमितिको म्याद आगामी मंसिरमा सकिँदैछ । मंसिरमा अहिलेसम्म कुनै प्रक्रिया सुरु नभएकाले महाधिवेशन हुने सम्भावना कम हुन्छ । तसर्थ एक वर्ष थप्नेबारे पनि कुराकानी भयो,’ प्रवक्ता महतले भने ।














