काठमाडौँ ।
नेपाली कांग्रेसले अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्ने निर्णय गरेको छ ।
जनता समाजवादी पार्टी ९जसपा ०नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णयपछि देखिएको समस्या समाधानबारे नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरूले छलफल गर्दै सो निर्णय गरेको बताइएको छ ।
पार्टीका राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको पहलमा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा अध्यादेश पास गर्न अपनाउन सकिने वैकल्पिक उपायबारे छलफल भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार नेकपा एकीकृत समाजवादीलाई मनाएर राष्ट्रियसभाबाट अध्यादेश स्वीकृत गराउन पहल गर्ने निर्णय भएको छ ।
सत्तामा रहेको लोसपा र गठबन्धन सरकारलाई समर्थन गरेको जसपा नेपालले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश–२०८१ अस्वीकार गर्ने निर्णय गरेका थिए । जसपा नेपालको मंगलबार बसेको संसदीय दलको बैठकले अस्वीकार गर्ने निर्णय गरेको थियो भने लोसपाका अध्यक्ष महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने बताएका थिए ।
यी दुई दलबिना राष्ट्रियसभामा अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदा स्वीकृत हुने सम्भावना नभएपछि कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाको पहलमा संस्थापन पक्षीय नेताहरूले विकल्प खोजेर समस्या समाधानबारे कुराकानी गरेका हुन् ।














