पोखरा ।
पोखरामा ६० करोड लागतमा सय बेडको आयुर्वेद चिकित्सालय बन्ने भएको छ ।
गण्डकी प्रदेश सरकारले बनाउने भनेको आयुर्वेद चिकित्सालय अब पोखरा–२६ मा संघीय सरकार आफैंले बनाउने भएको छ । यसअघि गण्डकी प्रदेशले २५ बेडको अस्पताल बनाउने भन्दै संघीय सरकारबाट जग्गा प्राप्तिसमेत गरिसकेको थियो ।
संघीय सरकारले सातै प्रादेशिक आयुर्वेदिक चिकित्सालय बनाउने नीति लिएपछि गण्डकी प्रदेश सरकारले आफूले बनाउने भनेको अस्पताललाई नै एक सय बेडको बनाउनका लागि पत्राचार गरेको हो ।
पोखरा–२६ को चापाकोचौर भन्ने स्थानमा बन्न लागेको प्रादेशिकस्तरको आयुर्वेद चिकित्सालयका कारण स्थानीयमा खुसीसमेत छाएको वडाध्यक्ष नरेन्द्र थापाले बताए । संघीय सरकारले यो वर्ष आयुर्वेद चिकित्सालय निर्माणका लागि चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन भएको छ भने कुल लागत ६० करोड रुपैयाँ अनुमान गरिएको छ ।
चिकित्सालयका लागि २५ रोपनी जग्गा उपलब्ध भइसकेको, र थप १० रोपनी जग्गाका लागि स्थानीयसँग सुनिश्चितता गरिएको पनि वडाध्यक्ष थापाले जानकारी दिए ।
चिकित्सालय निर्माण स्थलको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निरीक्षण गरेका छन् । सुविधा सम्पन्न १ सय बेडको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरी टेन्डर प्रक्रियाअगाडि बढाउन लागेको स्वास्थ्यमन्त्री पौडेलले जानकारी दिए ।
चिकित्सालय निर्माणका लागि आवश्यक सबैखाले तयारी र प्रक्रिया पूरा भएको पौडेलको भनाइ छ ।














