पोखराका ऐतिहासिक चौतारा र पुराना रुख मास्ने विरुद्ध जुटे संरक्षणकर्मी

दोषीलाई कारबाहीको माग, मुद्दा दर्ताको तयारी

केन्द्रभाग मिडिया

पोखरा ।
विभिन्न बहानामा पोखराका चौतारा र विभिन्न ठाउँमा रहेको बर, पिपल र स्वमी लगातका रुख काट्ने विरुद्ध कारबाहीको माग भएको छ । वातारण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीको संयुक्त आयोजनामा बिहीबार भएको बृहत नागरिक भेलामा सहभागीहरुले यस्तो माग गरेका हुन् ।

धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वका वृक्ष नष्ट गर्नेलाई कारबाही तथा बाँकी रहेका बरपिपल चौतारा लगायत प्राकृतिक सम्पदाहरुको संरक्षका लागि दबाब सृजना गर्न आयोजित भेलमा बोल्दै वातावरणविद् डा. अनिल सुवेदीले ऐतिहासिक चौतारा र रुख मास्दा जनप्रतिनिधिसंगै स्थानीय र संरक्षणमा काम गर्नेहरुले समेत रोक्न नसकेको बताए । अगामी दिनमा यसरी रुख नकाट्ने वातावरण बनाउन सबै लाग्नुपर्ने धारणा राखे । स्थानीय आमा समूहदेखि संरक्षण्कर्मीहरु लागे फडानी रोक्ने सकिने बताए ।

पृथ्वी नारायण क्याम्पस प्राणी शास्त्र विभागका उपप्रध्यापक हेमन्त ढकालले पोखरामा सम्पदाको रुपमा रहेका रुख कसैले पनि मनमौजीढंगले काट्न नपाउने बताए । उनले पोखरामा माघको पहिलो हप्ताबाट रुख काँटछाँटको अभियान थालिएको र त्यसमा केही धार्मिक संस्थाका नाममा घुसपैठ गरेर रुख काटिएको बताए । उनले यसरी रुख काटिँदा कानुनी राज्य नै छैनकी जस्तो झल्को देखिएको धारणा राखे ।

वातावरण संरक्षण महाअभियानका अभियान्ता एवं प्रदेश बन निर्देशनालयका पूर्वा निर्देशक रामकाजी श्रेष्ठले यसरी सार्वजनिक चौतारामा रहेका महत्वपूर्ण रुखहरु काट्नेलाई १० वर्षसम्म जेल सजायँ र १० लाखसम्म जरिवाना लगाउने कानुनी व्यवस्था रहेको जानकारी दिए । यसरी रुख काट्नेलाई कानुनी कठघरमा उभ्याउन दवाव जरुरी रहेको बताए ।

पृथ्वी नारायण क्याम्पसका वातावरण विभागका प्रध्यापक कल्याण पन्तले पोखरामा चौतारा मासिने क्रम निरन्तर रहेको बताए । उनले विगतको तथ्यांक बताउँदै अहिले झनै चौतारा मासिने क्रम बढेको उल्लेख गरे । नागरिक अभियान्ता एवं नागरिक समाज कास्कीका संस्थापक रामबहादुर पौडेलले यसरी रुख काटिँदा जैविध विविधता र पर्यावरणमा नै असर पर्ने भएकाले चौतारा मास्ने र चौताराका पुराना रुख काट्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए । उनले आगामी दिनमा अझै सशक्तढंगले यस्ता अभियान चलाइने बताए ।

अधिवक्ता भगवति पहारीले ऐतिहासिक चौतारा मास्ने विरुद्ध आफूसहित तीन जना कानुन व्यवसायी मिलेर रिट दायर गर्ने तरखरमा रहेको जानकारी दिइन् । उनले आआफ्नो क्षेत्रबाट सबैजना संरक्षणका लागि जुट्नुपर्ने बताइन् । कार्यक्रममा सहभागीहरुले महानगरपालिका, बन कार्यालय र प्रदेश सरकारले समेत यसमा चासो राख्नुपर्ने र दोषीलाई हदैसम्मको सजायँ हुनुपर्ने धारणा राखे ।

मानव सेवा फाउन्डेसनले आउँदो वैशाख १७ गतेदेखि लेक साइडको बाराहीघाटमा कोटिहोम गर्ने जनाएको छ । त्यसका लागि भन्दै पोखराका चौताराहरुमा रहेका सयौं वर्ष पुराना रुखहरू अनधिकृत रूपमा मानव सेवा फाउन्डेसनले काटेको छ । पोखरा ६, १३ र १४ मा विभिन्न चौतारका ठूला रुख नपलाउने गरी ठुट्याइएका छन् । यसरी ठुट्याइए पछि आइन्दा यस्ता हर्कत हुन नदिन संरक्षणकर्मीहरु एक जुट भएर कारबाहीको माग गरेका हुन् ।

  • १ फाल्गुन २०८१, बिहीबार २३:०६ प्रकाशित