रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन दिएका छन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री लगायत मन्त्रालयका कर्मचारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन पनि निर्देशन दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सधैं समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे । उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाइ वितरण गरिसक्न पनि आग्रह गरे ।

मन्त्रालयका अनुसार वार्षिक पाँच लाख ५० हजार मेट्रिक टन मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन गरिएको छ । हालसम्म दुई लाख ४० हजार मेट्रिक टन मल आयात भएको छ भने गत वर्षको मौज्जादसमेत गरी दुई लाख ६३ हजार मेट्रिक टन बिक्री भइसकेको छ ।

  • १ फाल्गुन २०८१, बिहीबार १६:५४ प्रकाशित