कास्कीमा एक महिनामा समातिए १५३ जना फरार प्रतिवादी

केन्द्रभाग मिडिया

पोखरा ।

विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका १५३ जना जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त शर्माका अनुसार एक महिनाको अवधिमा ती फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।

यही १ माघ देखी ३० माघसम्म विभिन्न मुद्दामा फैसलाई भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका १२५ जना पुरुष र २८ जना महिलालाई पक्राउ गरि अदालतमा फैसला कार्यान्वयनका लागि बुझाइएको उनले बताए । उनीहरुबाट ५ वर्ष २ महिना १६ दिन कैद सजायँ र एक करोड ५२ लाख ४८ हजार ८४६ रुपैँया जरिवाना असुल गर्न अदालत उपस्थित गराइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार यसरी पक्राउ परेका फरार प्रतिवादमा चेक अनादार मुद्दामा ९६ जना, लागू औषध सम्बन्धी मुद्दामा १४ जना, बैंकिङ कसूर मुद्दामा १८ जना, अभद्र व्यवहार मुद्दामा ५ जना, न्यूनस्तरको खाद्य उत्पादन बिक्री गरेको सम्बन्धीमुद्दामा २ जना, स्वास्थ्य कर्मी तथा संस्थाको सुरक्षा सम्बन्धी मुद्दामा २ जना, सवारी ज्यान मुद्दामा १ जना, कुटपिट मुद्दामा १ जना, जालसाझी मुद्दामा ४ जना, लेनदेन मुद्दामा १ जना, चोरी मुद्दामा ९ जना फरार प्रतिवादी पक्राउ गरेर बुझाइएको हो ।

  • ३० माघ २०८१, बुधबार १९:५५ प्रकाशित