गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी गरेको सुन्दा भाषा अभियन्ता भीमप्रसाद गुरुङलाई मुलुकमा गणतन्त्र आएको महसुस भएको छ ।

विभिन्न जातजातिले बोल्ने भाषाहरूलाई सरकारी कामकाजको भाषा बनाउनु भनेको समुदायलाई सशक्त बनाउनु मात्र नभई तिनको सांस्कृतिक सम्पदालाई पनि संरक्षण गर्नु रहेको उनको बुझाइ छ ।

उनी सरकारी कामकाजमा गुरुङ भाषालाई समावेश गर्नु भनेको भविष्यका पुस्ताका लागि संस्थागत बनाउनु रहेको बताउछन् । उनी भन्छन्, ‘गुरुङ भाषा हाम्रो पहिचानको आधार हो । यो केवल बोलचालको माध्यम मात्र होइन, हाम्रो इतिहास, संस्कृति, र परम्पराको अभिन्न अङ्ग हो ।’ उनले भने, ‘यसको प्रभावकारी कार्यान्वयनका लागि भाषा शिक्षालाई प्राथमिकता दिँदै सरकारी कर्मचारीहरूलाई तालिम, आधिकारिक दस्तावेजहरूको अनुवाद र डिजिटल माध्यममा भाषा प्रवद्र्धन गर्न ठोस नीतिको खाँचो छ ।’

उनले भाषा समृद्ध भए पनि लेखन र प्रशासनिक क्षेत्रमा यसको प्रयोग सीमित रहेको र सरकारले दीर्घकालीन नीति बनाई गुरुङ भाषा साहित्यको प्रर्वद्धन, अनुसन्धान र शैक्षिक पाठ्यक्रम विस्तार गर्नुपर्ने अन्यथा विधेयक कागजमै सीमित हुने सम्भावना रहन सक्ने बताए ।

प्रदेशमा मगर र गुरुङ भाषा व्यापक रूपमा प्रयोग हुने प्रमुख भाषाहरू भएसँगै यसलाई सरकारी कामकाजको भाषा बनाउने तयारी गरिएको छ । सांस्कृतिक र भाषिक विविधताले समृद्ध बनेको गण्डकीले अब प्रशासनिक कामकाजमै बहुभाषिकता समेट्ने तयारी गरिरहेको छ ।

प्रदेश सरकारले त्यसका लागि मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयकको मस्यौदा माथि सरोकारवालासँग छलफल गरेर सुझाव सङ्कलन गरिसकेको छ । रासस

  • ३० माघ २०८१, बुधबार १६:४५ प्रकाशित