काठमाडौँ ।
सरकारले ल्याएको विभिन्न ६ वटा अध्यादेशमध्ये जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि सम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशमा सदनमा सहमति नजनाउने निर्णय गरेको सो संसदीय दलका प्रमुख सचेतक रेखा यादवले बताइन् ।
माघ २४ गते दुवै सदनको कार्यसूचीमा अध्यादेश राखेपछि सोही दिन जसपा नेपालको संसदीय दलको बैठक बसेको थियो । बैठक चलिरहेकै बेला कार्यसूचीबाट अध्यादेश हटेपछि जसपा नेपालले त्यो दिन कुनै निर्णय गरेन ।
अध्यादेश पास गराउनमा राष्ट्रियसभामा निर्णायक रहेको जसपा नेपाल चर्चाको केन्द्रबिन्दुमा थियो । सत्ता बार्गेनिङ गरेको आरोप पनि जसपा नेपालमाथि लागि रहेको थियो । तर पार्टीले आज भूमि सम्बन्धी अध्यादेश स्वीकार नगर्ने निर्णय गरेपछि अध्यादेश लागु हुनेमा अनिश्चित भएको छ ।
अध्यादेश पास गराउनमा जसपा नेपाल राष्ट्रियसभामा निर्णायक अवस्थामा छ । जसपा नेपालको तीन सांसद राष्ट्रियसभामा छन् । तीन सिटबिना सरकारले अध्यादेश पास गराउन सक्दैन ।














