सहकारी ठगी प्रकरण

पूर्वडीआईजी जोशीलाई कारागार पठाउने आदेश

केन्द्रभाग मिडिया

बुटवल ।

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका उनलाई सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले थुनामा पठाउने आदेश दिएको रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।

यसअघि उनी काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा ५० लाख र पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा ८८ लाख धरौटीमा रिहा भएका थिए। बुटवलमा पनि सुप्रिम सहकारी ठगीको अभियोग दर्ता भएपछि आफैँ अदालतमा उपस्थित भएका जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । उनीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ ।

यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने भने एक करोड धरौटी बुझाएर रिहा भएका थिए ।

सुप्रिम सहकारी ठगीमा २२ जनाविरुद्ध पूरकअभियोग दर्ता भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर पूरकअभियोग दर्ता भए पनि लामिछाने र जोशी मात्रै अदालतमा उपस्थित भएका हुन् ।

पूरकअभियोगमा ५५ करोड रुपैयाँ बिगो कायम गरिएको छ । यसअघि गत वैशाखमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो।

उनीहरूमध्ये १७ जनाविरुद्ध थप अभियोगसमेत दर्ता गरिएको छ। पूरकअभियोग र थप अभियोगसहित यो मुद्दामा जम्मा प्रतिवादी ४२ जना भएका छन्। पहिलो चरणको मुद्दामा ८६ करोड रुपैयाँ बिगो कायम गरिएको थियो। प्रतिवादी थप भएसँगै बिगो पनि झण्डै डेढ अर्ब पुगेको हो।

  • २८ माघ २०८१, सोमबार १९:२१ प्रकाशित