पोखरा ।
पोखरा रंगशालामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा आर्मीलाई हराउदै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको अन्त्यतिर राज भुषालको निर्णायक गोलमा चर्च ब्वाईज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रगंशालामा सोमवार तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै चर्च ब्वाईजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।खेलको ८९ औं मिनेटमा नविन लामाको कर्नरमा राजले पोष्टको अगाडि हेडर गोल गर्दै टोलीलाई सेमिफाइनलको यात्रा तय गराए । जारी प्रतियोगिताबाट बाहिरिने पूर्व विजेतामा आर्मी चौथो टोली बनेको छ ।
साविक विजेता आर्मीसँगै यसअघि दुई पटकको विजेता संकटा क्लब, आयोजक सहारा क्लब र एपिएफ प्रतियोगिताबाट बाहिरिसकेका छन । चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि ६ पटकको विजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले ब्रिगेड ब्वाइज क्लब युकेलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलवार थन्डरबोल्ट नर्थ युनाईटेड सिक्कीम र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिच हुनेछ ।















