नेसपा नयाँ शक्तिको निर्वाचन प्रक्रिया दिउँसो ३ बजेपछि

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) को नयाँ नेतृत्वका लागि आजै निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको छ ।

आइतबारदेखि प्रज्ञाभवन कमलादीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा निवर्तमान अध्यक्ष डा. बाबुराम भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार ः वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।

भट्टलाईले पेस गरेको प्रतिवेदनमाथि दोस्रो दिनको बन्द सत्रमा समूहगत छलफल भइरहेको केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार अहिले १२ वटा समूहमा समूहगत छलफल भइरहेको र दिउँसो ३ बजे समूहबाट आएका प्रश्नको जवाफ दिएपछि प्रतिवेदन पारित हुनेछ । त्यसपछि निर्वाचन समितिले चुनावी प्रक्रिया अगाडि बढाउने पोखरेलले जानकारी दिए ।

११ जना पदाधिकारी, ९९ केन्द्रीय सदस्य र केन्द्रीय निकायका पदाधिकारी सबै निर्वाचन प्रक्रियाबाट चुनिने उनले बताए । नयाँ नेतृत्व छनोट गरी मङ्गलवार महाधिवेशन सम्पन्न हुनेछ ।

  • २८ माघ २०८१, सोमबार १२:०८ प्रकाशित