नेकपा (एस) को गण्डकी अधिवेशन सुरु

सत्ता गठबन्धन विरुद्ध नेताहरुको आक्रोस, कुनै दलसंग एकता नहुने घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले अध्यादेश देश लुट्ने नियतका साथ ल्याएको टिप्पणी गरेका छन् । शनिबार नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो टिपपणी गरेका हुन् ।

उनले ६ अध्यादेशमार्फत ३० वटा कानुनको संसोधन गर्न खोजेर सरकारले देश लुट्न खोजेको आरोप पनि लगाए । ‘अध्यादेश देशलाई लुट्न, बिचौलियालाई फाइदा पुराउन, भ्रस्टचारलाई प्रोत्सहान गर्न ल्याइएको हो । यी अध्यादेश जनताको हितका लागि ल्याएको होइन’, अध्यक्ष नेपालले भने, ‘साच्चै त्यसको आवस्यकता थियो भने पहिल्यै किन ल्याइएन । संसदको अधिवेशन किन छल्न खोजियो ।’ संसदको अधिवेशन बोलाउनु पर्नेमा रातारात अध्यादेश ल्याउनुपर्ने के आवस्यकता थियो ?’ भन्दै नेपालले रातारात सरकार बनाउँदा नै यही उद्देश्य राखिएको बताए ।

अध्यक्ष नेपालले भीम रावलसहितका नेतालाईसहितका नेतालाई एमालेले कारबाही गरेबाट र नेता बामदेव गौतमलाई अल्मल्याएबाट पनि एमालेबाट विद्रोहको पुष्टि भएको तर्क गरे । ‘कसैकसैले पार्टीले बिद्रोहको औचित्य पुष्टी गर्न सकेन भन्ने गरेको सुनिन्छ,’ उनले भने, ‘भीम रावललाई कारवाही गरेर पार्टीबाट निकालेपछि पुष्टी भएन ? पार्टीमा आउन ठिक्क परेका बामदेव गौतमलाई अलमलाएर, मन नपरेका मान्छेलाई कारवाही गरेको घटनाले बिद्रोहको पुष्टी भएन ?’ नेपालले भने ।

कतिपय नेता कार्यकर्ता पार्टी माओवादी वा एमालेसंग एकता हुँदैछ भन्ने भ्रमको पछि लागेको उल्लेख गर्दै अध्यक्ष नेपालले दुबै पार्टीसंग एकता नहुने पनि प्रष्ट पारे । तर, बिचार मिल्ने पार्टीसंग सहकार्य भने हुनसक्ने उनको भनाई थियो ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई ठूला दल मिलेर बनाएको दुई तिहाईको सरकार भनेर घमण्ड गर्नेहरुले ल्याएको अध्यादेश ढुस् हुने अवस्थामा रहेको बताए । ‘आफूलाई बढो ठूला हुँ भन्नेहरु, दुई तिहाईको सरकार भन्नेहरुले ल्याएको अध्यादेश पास हुन नसकेर ढुस् हुँदैछ’ उनले भने ।

पार्टीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आफुहरु संसदमा थोरै संख्यामा रहे पनि सरकारका गलत कामको भण्डाफोर गर्ने हैसियतमा रहेको बताए । उनले सत्ताधारी पार्टीका नेता कार्यकर्तालाई एकैदिन पक्राउ, बयान, बहस, धरौटी र रिहा गर्ने काम गरेको सरकरले कसैलाई भने विभिन्न जिल्ला घुमाएर पक्षपात व्यवहार गरेको आरोप लगाए ।

महासचिव घनश्याम भुषालले संविधान संसोधनमा हात हाल्न खोजेमा सत्ता रुढ दुबै दलको उठीबास हुने दावी गरे । धेरै नै सन्तुलन मिलाएर वर्तमान संविधान ल्याइएको भन्दै उनले त्यसलाई नखल्बल्याउन समेत उनले चेतावनी दिए । उनले संविधान संसोधन गर्नका लागि नभएर बर्तमान सरकारे दुइ ठूला दल भित्रका भ्रष्टलाई जोगाउन बनेको उनको टिप्पणी थियो ।

गण्डकी प्रदेशका अध्यक्ष श्रीनाथ बरालको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा प्रदेश कमिटी सचिव कृष्ण नेपाली र उपसचिव शर्मिलादेवी पौडेललगायतले बोलेका थिए भने जन गाएक ऋषि अधिकारीले विभिन्न सांगेतिक प्रस्तुति राखेका थिए ।

अधिवेशनमा प्रदेशका ११ जिल्लावाट  ४५० जना प्रतिनिधिहरुसहित स्वयमसेवक र आयोजक गरेर ६ सय जना अधिवेशनमा सहभागी छन् ।

भोलिसम्म चल्ने अधिवेशनले  आगामी कार्यकालका लागि अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र ३ सहसचिव रहेको पदाधिकारीसहित भूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १४३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।

 

  • २६ माघ २०८१, शनिबार १९:४८ प्रकाशित