काठमाडौं ।
काठमाडौंमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा पनि नेपाल पराजित भएको छ ।
नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले बल बाँकी छँदा कुनैपनि विकेट नगुमाई पूरा गर्यो ।
महिला ट्वान्टी २० अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि नेदरल्यान्ड्सको यो सबैभन्दा ठूलो साझेदारी हो । कालिस र डेनिस भान डेभेन्टरले २०१९ मा जर्मनीविरुद्ध १ सय ४४ रनको साझेदारी गरेका थिए ।
नेदरल्याण्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित रहँदै ११ चौका र २ छक्कासहित ९८ रनको शानदार पारी खेलिन् । त्यसैगरी फेबे मोल्कनबोरले अविजित ४८ रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको थियो । नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनाएको थियो।















