पोखरा ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन् ।
बुधवार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने उनले सुनाए । नेपालमा क्यान्सरबाट हुने मृत्युदर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले यसको निर्मुलीकरणमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
तथ्यांकअनुसार नेपालमा दैनिक ६ महिलाको मृत्यु हुन्छ । त्यसमध्ये ४ जनाको पाठेघरको क्यान्सरबाट मृत्यु हुन्छ । ‘यो सामान्य तथ्याङ्क होइन । क्यान्सर खानपान, वातावरण जस्ता कारणले बढेको छ,’ उनले भने, ‘यो रोगको नियन्त्रण गर्ने र निर्मूल गर्ने उद्देश्य छ ।’
पौडेलले नेपालको भविष्यलाई पाठेघरको क्यान्सरबाट बचाउन खोप अभियान थालिएको बताए । ‘भविष्य यो खोपले बचाउँछ । खोपबाट मात्र पूरा क्यान्सर नियन्त्रण हुँदैन,’ अघि थपे, ‘१४ वर्ष माथिका महिलाहरूको क्यान्सरको स्क्रिनिङ गर्ने र उपचार अभियान सरकारले चलाउँछ ।’ उनले केही हप्तामा क्यान्सर रोगीलाई दिने किमो निःशुल्क बनाउने घोषणा गरे ।
नेपालमा उपचारमा मात्र रकम खर्च भएको भन्दै निरोधात्मक अभियान पनि सरकारले चलाउने सुनाए ।
पोखरामा २३ हजारभन्दा बढी किशोरीलाई खोप लगाउने योजना छ । स्वास्थ्य नीति महाशाखा प्रमुख डा।कृष्णप्रसाद पौडेलले पोखराभर ३९ हजारभन्दा बढी किशोरीलाई खोप देशभर १६ लाख ८८ हजारलाई खोप लगाउन लागिएको जानकारी दिए । गण्डकीमा १ लाख ५ हजारलाई खोप लगाउने तयारी छ ।