तनहुँमा टिपरले स्कुटरलाई ठक्कर दिँदा पोखराकी अप्सराको ज्यान गयो, छोरा घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरको ठक्करबाट पोखराकी एक महिलाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र।३ ०१–०२२ च ६७७८ नम्बरको कार र ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट स्कुटरमा सवार पोखरा महानगरपालिका–३२ कास्कीकी ४१ वर्षीया अप्सरा क्षेत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते क्षेत्रीको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा स्कुटर चालक २१ वर्षीय दीपेश क्षेत्री सामान्य घाइते छन् । उनी मृतकका छोरा रहेको प्रहरीले पुष्टि गरेको छ ।

यसैगरी टिपरको ठक्करबाट कार चालक पनि घाइते भएका छन् । कार चालक शुक्लागण्डकी नगरपालिका–११ साँखेका ३१ वर्षीय महेश पौडेलको दायाँ हातमा सामान्य चोट लागेको छ । प्रहरीका अनुसार उनलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।

टिपर चालक धादिङको निलकण्ठ नगरपालिका २ भुलभुलेका ४० वर्षीय प्रकाश गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • २१ माघ २०८१, सोमबार ११:३९ प्रकाशित