सराङकोटमा शिवरात्रिदेखि धार्मिक पर्यटन महोत्सव हुने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको सराङकोटमा १४ फागुनदेखि श्रीमद् ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव हुने भएको छ । ऐतिहासिक एबम धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको पर्यटकीय क्षेत्र सराङकोटलाई धामका रूपमा विकास गर्न सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव गर्न लगिएको हो ।

सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको अगुवाइमा पञ्चमुखी गणेश, विशाल शिव मन्दिर, भ्यु टावर, १०८ शिव लिङ्ग, १०८ धारा, भूमे कालिका, गणेश मन्दिर, बहुउद्देश्यीय भवन समेतको शिवरात्रिका दिन उद्घाटन गरिने महायज्ञ आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले अंग्रेजी वर्ष २०२५ लाई पोखरा पर्यटन वर्ष घोषणा गरिएको जानकारी दिंदै यसै सन्दर्भमा धार्मिक आस्थासँगै पर्यटकलाई सराङकोटको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वको अवलोकन गराउने उद्देश्यले त्यस क्षेत्रलाई एक पवित्र धामका रूपमा विकास गर्न लागिएको बताए । उनले पोखरामा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन महायज्ञ एवं महोत्सव सफल बन्ने अपेक्षा प्रकट गरे ।

महायज्ञ प्रचारप्रसार समितिका संयोजक कृष्णबहादुर थापाले सराङकोटलाई धार्मिक पर्यटकीय धामको रुपमा सथापित गर्न यो महायज्ञ एवं धार्मिक महोत्सव आयोजना गरिएको जानकारी दिए । उनले महोत्सवलाई सफल पार्न प्रचारप्रसारलाई व्यापक गराइएको बताए ।

भागवत भाष्कर एवं महायज्ञका प्रमुख वाचक पण्डित कमलनयन गौतमले महाशिवरात्रि जस्तो पवित्र दिनदेखि आरम्भ हुने यो महायज्ञले धार्मिक अनुयायीको ध्यान तान्नुका साथै भगवान महादेवप्रति भक्ति भाव व्यक्त गर्ने एउटा अनुपम अवसर प्रदान गर्ने बिश्वास ब्यक्त गरे । उनले आफूले विगत १९ वर्षदेखि आफू सराङकोट क्षेत्रको भौतिक पूर्वाधार निर्माणमा जुटेर सफलता नजिक आइपुगेको बताए । उनले भागवत ज्ञानको गहिरो अर्थ र शिक्षालाई समाजमा प्रवाह गर्दै धार्मिक एकता र शान्तिको सन्देश फैलाउने बताए । धार्मिक पर्यटन क्षेत्रको रुपमा रहेको नेपालको प्रमुख गन्तव्यको रुपमा सराङ्गकोट स्थापित रहेकोछ ।

शाहवंशीय राजा कुलमण्डल शाहको शासनकालमा सैनिकतालिम केन्द्र, हातहतियार भण्डारण गर्ने स्थानको रुपमा पोखराको पश्चिम क्षेत्रमा अवस्थित सराङ्गकोट शिखरबाट देखिने धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, गणेश हिमाल सहितको हिमश्रृंखला बिहानको उदाउँदो सुर्योदय र साँझको अस्ताउदो सूर्यको दृष्य अवलोकन सम्पूर्ण पोखरा नगरी र कास्की जिल्ला सहित विभिन्न जिल्लाहरुको दृष्य अवलोकन गर्न सकिने सराङकोटलाई धार्मिक एवं पर्यटन क्षेत्रको रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने उद्देश्यले यस अगाडि पनि पाँच पटकसम्म महायज्ञ लगाइएको छ ।

विसं २०६१ देखि सराङ्गकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको स्थापना गरी सराङ्गकोट भ्युको स्वरुपमा थप विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमूखी, गणेश मूर्ति, १०८ शिवलिङ्ग, १०८ जलधारा, भ्यूटावर, भूमेकालिका मन्दिर, भैरव चण्डी, गणेश मन्दिर, होमन कुण्ड, स्वागतद्धार, बहुउद्देश्यीय भवन लगायतको थप निर्माण तथा आवश्यकता अनुसार पुर्णनिमार्ण सम्पन्न भएका पोखरा महानगरका वडा नम्बर १८का वडाध्यक्ष एवं सराङकोट धार्मिक क्षेत्र विकास समितिका कोषाध्यक्ष शिव तिमिल्सिनाले जानकारी दिए ।

अन्नपूर्ण केवलकारका व्यवस्थापक दीनेश पौडेलले यस क्षत्रको विकासमा अन्नपूर्ण केवलकार सधै साथमा रहेको बताए । उनले अरुबेला केवलकार मार्फत सराङकोट पुग्न ७५० रुपैयाँ लाग्नेमा ५५० छुट दिइएको र महोत्सवमा जाँदा जम्मा दुई सय रुपैयाँमा यात्रा गर्न पाइने जानकारी दिए ।

वि.सं. २०६३ देखि आयोजित विभिन्न महायज्ञका सहयोगीदानदाता, सम्पूर्ण सहयोगीदाता, नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, तत्कालिन सराङ्गकोट विविस पोखरा महानगरपालिका वार्ड नं। १८, संघसंस्था समेतको सहयोगले निर्माण कार्यमा हालसम्म २३ करोड २५ लाख र पञ्चमुखी गणेश मुर्ती विभिन्न संरचना निमार्णमा पोखराका व्यवसायी कालु गुरुङ्ग लगाएत रोडसो कन्स्ट्रक्सन प्रालिबाट ११ करोड, अन्नपूर्ण केबलकार प्रालि बाट ७५ लाख सहित कुल निमार्ण लागत ३५ करोड रहेको छ ।

२१ फागुनसम्म चल्ने श्रीमद् भागवत्ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव सम्पन्न गर्न समाजका विभिन्न क्षेत्रसँग आवद्ध सामाजिक, धार्मिक, शैक्षिक, व्यवसायिक, राजनितिक क्षेत्रका व्यत्तित्वहरु समिति एक हजार १११ सदस्यीय मुल आयोजक समिति, २७ विभिन्न उपसमिति गठन गरिएको प्रचारप्रसार संयोजक कृष्णबहादुर थापाले जानकारी दिए ।

 

  • २१ माघ २०८१, सोमबार १०:०२ प्रकाशित