आजदेखि सुरु हुँदै गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । यही ८ माघमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले आजबाट सुरु हुनेगरी बैठक डाकेका हुन् ।

प्रदेश सभाको बर्खे अधिवेशन ८ असोजमा अन्त्य भएको थियो । वर्षे अधिवेशन अन्त्य भएको १ सय ३२ दिनपछि आज बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे सुरु हुनेछ । बैठकका लागि आइतबार कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची पारित गरेको छ ।

प्रदेश सभाका सूचना अधिकारी उपसचिव प्रेम सुवेदीका अनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने छ । त्यसपछि प्रदेश निमामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सदनमा टेबल गर्नेछन् । अन्तिममा प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेपछि सभामुख कृष्ण प्रसाद धितालले अर्को बैठकको मिति तोकेर आजको बैठक समापन गर्ने कार्यतालिका छ ।

प्रदेश सभाका विषयगत समितिमा ३ वटा विधेयक छलफलको क्रममा छन् । गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, जिवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतर सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा छन् ।

संसद आह्वान भएपछि प्रदेश सरकारले सदनमा १ अध्यादेश र १ विधेयक दर्ता गराएको छ । गण्डकी प्रदेश निजामती सेवा ऐन संशोधन अध्यादेशसमेत प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । उक्त अध्यादेश सरकारको तर्फबाट १८ माघमा र उद्योग तथा पर्यटन मन्त्रालयले ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ १४ माघमा दर्ता गराएको उपसचिव सुवेदीले जानकारी दिए ।

 

  • २१ माघ २०८१, सोमबार ०७:४२ प्रकाशित