ढोरपाटन ।
तीन वर्षदेखि निर्माणाधीन ढोरपाटन नगरपालिकाको भवन यही माघमा निर्माण सम्पन्न भएको छ । उक्त भवन चार करोड ५९ लाख ३४ हजारमा निर्माण भएको हो ।
निर्माण सकिएसँगै नगरले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने योजनासहित सोमबार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहद्वारा भवन उद्घाटन गर्ने कार्यतालिका बनाएको नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । आर्थिक वर्ष २०७८-७९ देखि भवन निर्माण सुरु भएको भन्दै आफ्नै कार्यालयबाट सेवा दिन थालेपछि सेवाग्राही र सेवाप्रदायक दुवैलाई सहज हुने उनले विश्वास व्यक्त गरे ।
उपप्रमुखले भने, ‘यो भवन अघिल्लो कार्यकालमा बन्नुपर्ने थियो । जग्गा व्यवस्थापन नहुँदा केही समस्या भएपछि निर्माणमा ढिलाइ भएको हो । उद्घाटनपछि केही दिनमा भवन स्थानान्तरण गरी गुणस्तरीय सेवा प्रवाह गर्नेछौँ ।’
भवन निर्माण भए पनि सवारीसाधन पार्किङस्थल, अन्य पूर्वाधार व्यवस्थापनको काम बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेले बताए । यसअघि वार्षिक २५ लाख बढी भाडाबापत रकम भुक्तानी गर्नुपरेको जनाउँदै आफ्नै भवनबाट सेवा दिन थालेपछि उक्त रकम बचत हुने उनले उल्लेख गरे । रासस














