पोखरा ।
पोखराको ड्याम साइड क्लवको आयोजनामा भोलि (आइतबार) देखि चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा हुने उक्त प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा आइतबार देखि हुने भएको आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
यही माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा १९ वटा बिद्यालयको सहभागिता रहेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताए । आइतबार १२ः०० बजे पछि हुने उद्घाटन खेलमा शिशु निकेत मावि र पोखरा किण्डरगार्टेन मावि बिच खेल हुने भएको हो । त्यसै गरी भोलि अर्को खेल हिमालयन बोर्डिङ स्कुल र बिद्या निकेत मावि बिच खेल हुने भएको छ ।प्रतियोगितामा पोखरा १७ स्थित वडामा रहेका सामुदायिक तथा निजी बिद्यालयहरुले मात्र सहभागि जनाएका हुन् । ७ दिनसम्म चल्ने प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने भएका छन् ।
पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, महासंघ कास्की शाखाका अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव परशुराम शर्मा आचार्य लगायतको सहभागिता रहेको थियो ।हरेक खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई ट्रफी प्रदान गरिने भएको छ भने प्रतियोगितामा सर्वोउत्कृष्ट सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट स्टाइकर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई समेत ट्रफी प्रंदान गरिने भएको प्रतियोगिताका संयोजक विनोद परियारले बताए । त्यसै गरी प्रतियोगितामा अनुशासित टिम र उदीयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने भएको छ ।
गत बर्षको विजेता शान्ति निकुन्ज बोर्डिङ स्कुल रहेको क्लवका महासचिव राकेश श्रेष्ठले बताए । बालोदय बोर्डिङ स्कुल भने गत बर्ष उपविजेता भएको थियो ।खेलकुदको शहर पोखरामा विगत २०५९ सालदेखि खेलकुद, पर्यटन र सामाजिक कार्यमा सक्रिय हुदै आएको क्लवले विश्वकै चर्चीत खेल फुटवल खेलको तल्लोस्तर (ग्रासरुट) बाट विकास गर्ने उद्धेश्यले विगत ३ बर्ष देखि उक्त प्रतियोगितालाई निरन्तरता दिदै आएको पूर्व अध्यक्ष पदम ढकालले जानकारी दिए ।उक्त क्लबबाट राजेन्द्र तामाङ, रवि थापा, प्रताप शैजु, बसन्त गौचन, विशन गौचन सहितका खेलाडी सहित ए डिभिजनमा खेल्ने करिब २५ जना खेलाडीहरु उत्पादन गर्न सफल भएको क्लवको दाबी छ ।















