पोखरा ।
नेपाल पर्यटन बोर्डमा आवश्यक भन्दा धेरै न्युन कर्मचारी हुँदा बोर्डमार्फत हुने काम नै प्रभावित भएका छन् । पर्यटन बोर्डप्रति निजीक्षेत्र र नागरिकका अपेक्षा बढेका छन् । यसको कार्यक्षेत्र समेत बढेको छ । तर, कर्मचारीको चरम अभाव बोर्डले खेपेको छ ।
बोर्डमा विगत ७ वर्षदेखि कुनै कर्मचारी भर्ना नगरिँदा सेवा प्रवाह र स्वयम कर्मचारीको बृत्तिविकासमै समस्या आएको नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनका अध्यक्ष कुन्दन मिश्रले बताए । उनका अनुसार बोर्डमा ६० जनाको दरबन्दी रहेकोमा अहिले १५ जनाको दरबन्दी खाली छ । ‘विगत ७ वर्षदेखि कर्मचारीका लागि कुनै विज्ञापन खोलिएको छैन । ६० जनाको दरबन्दी हो । त्यसमा नै १५ जनाको दरबन्दी रिक्त छ ।
‘आवश्यक कर्मचारी नै नभएपछि स्वभाविक रुपमा त्यसको प्रभाव सेवामा परिहाल्ने भयो ।’ उनले भने, ‘नयाँ कर्मचारी भर्ना नहुँदा सात वर्षदेखि बोर्डमा रहेका कर्मचारीको समेत बढुवा हुने कूरा भएन । यसले कर्मचारीको मनोबल समेत खस्किएको अवस्था छ ।’
कर्मचारीको अभावमा काम प्रभावित हुँदा बोर्डप्रति नै नकारात्मक धारणा फैलिएको नेपाल पर्यटन पोखराका निमित्त प्रमुख नविन पोखरेलले बताए । गण्डकी प्रदेशबाट सरुवा भएपनि यहाँ निर्देशक र अन्य कर्मचारी अभाव हुँदा केही समयका लागि व्यवस्थापन गर्न आएका उनले कर्मचारीले रातदिन नभनी काम गरेको भएपनि आफूहरु प्रति नकारात्मक धारणा मात्र फैलाउने गरेको गुनसो पोखे ।
पर्यटन वोर्डको गण्डकी कार्यालयमा व्यस्त देखिएका उनले भने, ‘हेनुहोस्, हामी यसरी खटिइरहेका छौं । दिनरात नभनी सेवा दिइरहेका छौं । तर, हामी प्रति नै नकारात्मकता फैलाइँदिँदा काम गर्ने जाँगर समेत नहुने रहेछ ।’
कर्मचारी अभावले समस्या भएको कूरा सत्य हो : सिइओ जोशी
नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले बोर्डमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या रहेको स्वीकार गर्छन् । उनले बोर्डमा ६० जनाको दरबन्दी रहेकामा १५ जना दरबन्दी खाली खाली रहेको र त्यसमा पनि केही कर्मचारी विदामा समेत बस्नुपर्ने र कही कार्यक्रमका दौरान विभिन्न ठाउँमा पुग्नुपर्दा त्यसका प्रभाव स्वभाविक रहेको बताए ।
उनले अब यसैलाई मध्यनजर गरेर छिट्टै कर्मचारी पदपूर्तिको प्रक्रिया अगाडि बढाउन लागेको समेत जानकारी दिए । नागरिकका र व्यवसायीका अपेक्षा बोर्डप्रति धेरै नै रहेको भन्दै उनले सेवा क्षेत्रसमेत बढ्दा सिमित कर्मचारीको भरपर्दा समस्या रहेको सुनाए । ‘बोर्डप्रति अपेक्षा र कायक्रमको भोलुम बढेको छ । पदपूर्ति भएको छैन ।
यसको प्रभाव स्वभाविक रुपमा सेवामा परेको छ । यसैलाई महसुस गरेर नै कर्मचारी भर्नाका लागि प्रस्ताव तयार गर्दैछौं’ उनले भने । उनले यस्तो समस्या अब धेरै समय रहन नदिने समेत उल्लेख गरेका छन् । पर्यटन बोर्डलाई अहिलेकै अवस्थामा कम्तीमा पनि एक सय कर्मचारी आवश्यक रहेको उनको भनाई छ ।
दुई प्रदेशमा कार्यालय स्थापना गर्ने तयारी
पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले पर्यटन बोर्डले प्रदेश सरकार र स्थानीय तहसंग समेत सहकार्य गरेर आफ्नो सेवालाई विस्तृतिकरण गर्दै लैजाने बताए । उनले चालु आर्थिक वर्षमा नै थप दुईवटा प्रदेशमा प्रदेश कार्यालय स्थापना गरिने योजनामा बोर्ड रहेको जानकारी दिए । बोर्डको काठमाडौं बाहिर गण्डकी प्रदेशमा मात्र प्रदेश कार्यालय रहेको छ ।
विगतको पोखरा कार्यालयलाई नै संघीयता कार्यान्वयनसंगै प्रदेश कार्यालयमा रुपान्तरण गरिएको हो । अब अन्तर्राष्ट्रिय विमानस्थल लगायत पर्यटकीय पूवाधार समेतले लुम्बिनी प्रदेशमा प्रदेश कार्यालय आवश्यक रहेको उनले बताए । एउटा लुम्बिनी स्वभाविक रुपमा र अर्को कुन प्रदेशमा कार्यालय खोल्ने भन्ने विषयमा अहिले भन्न नसक्ने उनको भनाई छ । ‘अन्र्राष्ट्रिय विमानस्थल बनेको र अन्य धेरै हिसावले पर्यटकीय पूर्वाधार रहेकाले लुम्बिनीमा प्रदेश कार्यालय खोल्ने विषय स्वभाविक हो । यद्यपी लुम्बिनीमा नै खोल्ने भन्ने विषय टुंगिइसकेको विषय भने होइन । थप अर्को कुनै एक प्रदशमा कम्तिमा यसै आर्थिक वर्षमा कार्यालय खोल्ने योजनामै छौं’ उनले भने ।
सिइओ जोशीले पर्यटन बोर्ड निजी क्षेत्रको नेतृत्वमा बढी काम गर्ने संस्था रहेको र नियमक निकाय नभएकाले सबै ठाउँमा कार्यालय नै चाहिन्छ भन्ने नभएको समेत सुनाए ।
यस्तो अन्योलता अब लामो समय रहने छैन : पर्यटन मन्त्रालयका सचिव शिंह
नेपाल पर्यटन बोर्डले आफ्नो पोखरा कार्यालयलाई गण्डकी प्रदेश कार्यालयमा रुपान्तरण गरेको छ । त्यसैगरी अन्य प्रदेशमा पनि आवश्यकताका आधारमा क्रमस कार्यालय स्थापनको तयारीमा बोर्ड छ । निजी क्षेत्रको अपेक्षा र कार्यक्रमको समेत विस्तार भइरहँदा त्यसलाई समेटेर लैजानगरी पर्यटन बोर्डले आफ्नो ऐन र विनियमावली समेत परिवर्तन गर्नुपर्ने देखिएको बोर्डका उच्च कर्मचारीहरु बताउँछन् ।
पर्यटन बोर्डको अध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश शिंहले छिट्टै बोर्ड बैठक बोलाएर गाँठो फुकाउने तयारीमा आफू रहेको बताए ।
‘पर्यटन बोर्डमा सात–सात वर्षसम्म किन नयाँ कर्मचारी नियुक्तिको प्रक्रिया अगाडि बढाइएन ?’ भन्ने जिज्ञासामा उनले आफू भर्खर मन्त्रालयमा आएकाले यस सम्बन्धी बुझ्ने काम भइरहेको र बोर्डको बैठक राख्ने तयारीमा रहेको जवाफ दिए । ‘म भर्खर भर्खर यो मन्त्रालय सरुवा भएर आएको हुँ । बोर्डका साथीहरुसंग बसेर एक चरण सबै विषयबस्तुबारे जानकारी लिएको छु । अहिलेकै अवस्थामा कर्मचारी रिक्त राखेर सेवा प्रभाहलाई नै प्रभावित गर्ने कूरा हुँदैन । कर्मचारी व्यवस्थापन र अरु धेरै विषयमा बोर्डको बैठक राखेरै अगाडि बढाउने योजनामा छु ।’ उनले भने, ‘यस्तो अन्योलता अब लामो समय रहने छैन ।’