पोखरा ।
गण्डकी प्रदेशका एकलाख पाँच हजार ४७९ जना किशोरीलाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । यही २२ माघदेखि ६ फागुनसम्म राष्ट्रिय तालिका अनुरूप नै खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार पत्रकार अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी दिएको हो । निर्देशनालयका अनुसार प्रदेशका विद्यालय र अन्य गरेर दुई हजार ५०४ खोप केन्द्र मार्फत खोप लगाइनेछ । यस मध्ये मनाङ र मुस्ताङमा भने अहिले चिसो हुनेहुँदा केही पछि लगाइने निर्देशनालयले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले खोप अभियान सफल बनाउन मन्त्रालयले आफ्नो ठाउँमा काम गररहेको बताए । उनले यो राष्ट्रिय अभियान भएकाले सफल पार्न सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिव विनोदविन्दु शर्माले खोपका लागि सबै तयारी पूरा भएको बताए । यो जनस्वास्थ्यका हिसावले बिशेष र महत्वपूर्ण कार्यक्रम रहेको भन्दै यसका लागि स्थानीय सरकार र सरोकारवाला सबैसंग सहकार्य गरिएको उनले जानकारी दिए ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले सबै जिल्लामा तल तलसम्म प्रचारप्रसार हुनुपर्ने बताए ।
गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष एवं रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले स्थानीय तहले स्वास्थ्य शाखा मार्फत जनस्तरमा पुगेको र कार्यक्रम सफल पार्न लागि परेको बताए ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काका अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा एवं १० देखि १४ वर्षका किशोरीलाई यो खोप लगाइने छ ।
स्त्रीरोग विशेषज्ञ एवं गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रकी प्रमुख डा. रेखा पौडेलले यो खोप निकै प्रभावकारी रहेको जानकारी दिँदै यसको प्रभावकारिता ९८ प्रतिशतभन्दा धेरै रहेको बताइन् । उनका अनुसार पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार जना महिलाको ज्यान गुम्ने गरेको छ ।
गण्डकी प्रदेशमा खोप कार्याक्रमको तयारीको बारेमा प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत एकनारायण लम्सालले प्रस्तुतीकरण दिएका थिए । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ । यो कार्यक्रम अन्तर्गत देशभर १६ लाख ८८ हजार ७ सय ६८ छात्रालाई खोप दिइने छ ।
ह्युमनपापिलोमा भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेले हुने गर्दछ ।
गण्डकीमा कुन जिल्लामा कतिले लगाउने छन् खोप ?
गण्डकीमा कास्कीमा सबैभन्दा धेरै कास्कीमा २६ हजार २९६ जना, नवलपुरमा १७ हजार १७० जना, तनहुँमा १४ हजार २७८ जना, वागलुङमा ११ हजार ४७८ जना, गोरखामा १० हजार २६८ जना, स्याङ्जामा ९ हजार ३१९ जना, लमजुङमा ६ हजार ५४४ जना, पर्वतमा ४ हजार ७१९ जना, म्याग्दीमा ४ हजार ७०८ जना, मुस्ताङमा ५८७ जना (केही थपघट हुन सक्ने), मनाङमा ११२ जना(केही थपघट हुन सक्ने) रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएका छ ।