महिला टी २० आई श्रृंखला

पहिलो खेलमा नेदरल्यान्ड्ससंग नेपाल पराजित

केन्द्रभाग मिडिया

पोखरा ।

महिला टी २० आई श्रृंखलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । नेपालविरुद्ध नेदरल्यान्ड्सले २० रनको जित हात पारेको हो ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले टस हारेर ब्याटिङ गर्दै १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपाल ७ विकेट गुमाएर १३७ रनमा जोड्न सक्यो ।

नेपालविरुद्ध जितका लागि नेदरल्यान्ड्सकी रोबिन रिज्कीले नटआउट अर्धशतक पूरा गर्दै ५९ रन बनाइन् । उनी नै खेलको प्लेयर अफ दि म्याच बनिन् । उनीबाहेक स्टिर क्यालिस २९, आइरिस ज्विलिङ ३१, हिथर सिजर्सले २३ रन जोडेपछि नेदरल्यान्ड्सले ठूलो रनको लक्ष्य दिएको थियो ।

बलिङतर्फ नेपालका कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता राना मगरले समान १ विकेट लिए । लक्ष्य पछ्याएको नेपालका लागि सीता राना मगरले जोडेको २८ रन नै सर्वाधिक रहनपुग्यो । उनीबाहेक कविता जोशीले २७, पूजा महतोले २४, रुबिना क्षेत्रीले ११, कविता कुँवरले ८, इन्दु बर्मा ७, सम्झना खड्का ९, नटआउटद्वय एलिशा यादव ४ र विन्दु रावलले ३ रन जोडे ।

नेपालविरुद्ध नेदरल्यान्ड्सका एभा लिन्च र क्यारोलिन डी ल्यांगले समान २ तथा फ्रेडरिक ओभरडिज्क र आइरिस ज्विलिङले समान १ विकेट हात पारे ।
शृंखलामा अब भोलि मध्याह्न १२ः१५ मा नेदरल्यान्ड्स र थाइल्यान्डले खेल्नेछन् भने शनिबार नेपालले थाइल्यान्डको महिला टोलीको सामना गर्नेछ । सबै खेल कीर्तिपुरमा हुनेछन् ।

  • १७ माघ २०८१, बिहीबार १६:५२ प्रकाशित