महिला टी–२० आई क्रिकेट

नेदरल्यान्ड्सले दियो नेपाललाई १५८ रनको विशाल लक्ष्य

केन्द्रभाग मिडिया

पोखरा ।

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्ड्सले नेपाललाई १ सय ५८ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ रन बनायो । नेदरल्यान्ड्सकी रोबिन रिज्केले ५९, आइरिस ज्विलिङ्गले ३१ रन बनाए । दुवै जना नटआउट रहे । नेपालकी कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता राना मगरले १-१ विकेट लिए ।

टी–२० शृंखलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् । प्रतियोगितामा भोलि नेदरल्यान्ड्स र थाइल्यान्ड, पर्सि नेपाल र थाइल्यान्ड, २० माघमा नेदरल्यान्ड्स र नेपाल, २१ माघमा थाइल्यान्ड र नेदरल्यान्ड्स, २२ माघमा थाइल्यान्ड र नेपालबीच खेल हुनेछ ।

यस्तै २३ माघमा नेपाल र नेदरल्यान्ड्स, २४ माघमा नेदरल्यान्ड्स र थाइल्यान्ड तथा २५ माघमा नेपाल र थाइल्यान्ड खेल्नेछन् । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

  • १७ माघ २०८१, बिहीबार १४:०७ प्रकाशित