काठमाडौं ।
विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीवार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेश सरकारले गलत विधि र प्रक्रियामार्फत ल्याएको जिकिर गर्दै त्यसलाई अस्वीकार गर्ने निर्णय भएको बताए ।
शुक्रबारबाट सञ्चालन हुने संसद अधिवेशनमा अध्यादेशसहित जनसरोकारका विषयहरु एकमत भएर उठाउने उनले बताए । अध्यादेश ल्याउनुमा सरकारको गलत मनसाय रहेको जिकिर गर्दै उनले आवश्यक परेर सरकारविरुद्ध सडक आन्दोलन गर्ने चेतावनी समेत दिए ।













