काठमाडौँ ।
अब भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका प्रतिवादीले पनि थुना बाहिर बसेर मुद्धा लड्न पाउने भएका छन् ।
सर्वोच्च अदातलको बृहत् पूर्ण इजलासले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएको प्रतिवादीले थुना बाहिरै रहेर सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने गरी फैसला गरेको हो ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू विनोद शर्मा, अब्दुल अजीज मुसलमान, सुनिलकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका रुद्रप्रसाद दाहालको मुद्दामा यस्तो व्याख्या गरेको हो ।
सर्वोच्च अदालतले यसका लागि केही शर्त तोकेको छ । सर्वोच्चले दोषी ठहर भएको व्यक्ति ६ महिना थुनामा बसेको हुनुपर्ने र उसले अदालतको अनुमति बेगर विदेश जान नपाउने गरी राहदानी रोक्का राख्ने शर्तमा थुना बाहिरै रहेर मुद्दा लड्न पाउने व्यवस्था गरेको हो ।
अब अन्य मुद्दामा यो फैसलाको पालना गरिनुपर्छ । यसअघि सर्वोच्चले जिल्ला अदालत हुँदै उच्च अदालतबाट सर्वोच्च आएका प्रतिवादीहरूको हकमा थुनामा रहेर ६ महिनाभित्र फैसला नभए धरौटी वा तारेखमा रिहा भएर मुद्दा लड्न पाउने फैसला सुनाएको थियो ।
यातायात व्यवस्था विभागका कर्मचारीसहित केही भ्रष्टाचार मुद्दामा ५ वर्षभन्दा माथि कैद भएका प्रतिवादीहरूले आफूहरूले पनि थुना बाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने भन्दै निवेदन दिएका थिए । उक्त निवेदक संयुक्त इजलासबाट विस्तृत व्याख्याका लागि बृहत् पूर्ण इजलासमा गएको थियो । प्रधान न्यायाधीश राउतसहित संलग्न बृहत् पूर्ण इजलासले यो विवादमा २०८१ पुस २६ मा फैसला सुनाएको थियो । उक्त फैसलाको पूर्णपाठ हालैमात्र सार्वजनिक भएको हो ।
सर्वोच्चमा कर फर्स्योट आयोगमा भएको भ्रष्टाचारका विषयमा अध्यक्ष लुम्बध्वज महत तथा सदस्यहरू चूडामणि शर्मा र उमेशप्रसाद ढकालको मुद्दा विचाराधीन छ भने अन्य करिब ४ सय थान भ्रष्टाचारका मुद्दा छन् । तीमध्ये करिब एक सय थान ठुला भ्रष्टाचारका मुद्दा छन् । विशेष अदालतको फैसलाविरुद्ध शर्मासहितका प्रतिवादी सर्वोच्च पुगेका थिए । धरौटी बुझाउन नसकेपछि उनीहरू २०८१ साउन तेस्रो सातादेखि थुनामा रहेर मुद्दा लड्दै आएका छन् । अब उनीहरूले पनि फागुनपछि थुना बाहिरै रहेर मुद्दा लड्न पाउने बाटो यो नजिरले खोलेको छ ।














