नेपाल ‘स्टार्ट अप’र साना तथा मझौला सम्मेलन भोलिबाट

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सत्तारूढ दल नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले ‘नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन’ गर्ने भएको छ ।

विभाग प्रमुखसमेत रहेकी पार्टी केन्द्रीय सदस्य उर्मिला थपलियाले दिएको जानकारी अनुसार नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा भर्ने तथा मुलुकको आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गर्ने तयारी भएको हो ।

‘पार्टी केन्द्रीय कार्यालयमा माघ १६ र १७ गते दुई दिन कार्यक्रम हुनेछ,’ उनले भनिन् ।थपलियाले दिएको जानकारी ६ हजार भन्दा बढी युवा उद्यमीहरू, नीति निर्माता, उद्योगपति, लगानीकर्ता, तथा प्राविधिक मात्र होइन विज्ञहरूको सहभागिता कार्यक्रममा रहनेछ ।

विभाग प्रमुख थपलियाका अनुसार नवप्रवर्तन र उद्यमशीलता मार्फत आर्थिक रूपान्तरण गर्ने तथा स्टार्टअपहरूका लागि लगानीका अवसर र चुनौतीहरू बारे छलफल गर्ने कार्यक्रमको मुख्य लक्ष्य हो ।

‘डिजिटल अर्थतन्त्र र आइटी क्षेत्रको विकासका सम्भावना बारे विमर्श, महिला र युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने वातावरण बारे छलफल गर्ने मात्र होइन नेपाली कांग्रेसलाई युवामैत्री र उद्यमशीलतामा अग्रसर बनाउने योजना कार्यक्रमको हो,’ उनले भनिन् ।

विभागले गरेको सम्मेलनबाट नेपालको स्टार्टअपहरूको प्रवर्द्धन र उद्यमशीलताको वातावरण निर्माणका लागि हुने छलफल र सुझावहरूले व्यावसायिक नीति सुधार र लगानीको वातावरण बनाउन ठोस मार्गनिर्देशन गर्ने विश्वास लिएको उनले बताइन् ।

  • १५ माघ २०८१, मंगलवार १४:१५ प्रकाशित