काठमाडौँ ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले संघीय संसदको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तय गर्दैछ । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश लगायतको विरोध गर्ने तयारी गरिरहँदा संसदमा कसरी प्रस्तुत हुने र प्रतिरक्षा कसरी गर्ने भन्ने विषयमा एमालेले रणनीति बनाउन लागेको हो ।
त्यसका लागि आज एमाले संसदीय दलको बैठक बस्दैछ । दिउसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको एमाका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका दलहरुबीच एउटै धारणा बनाउन सोमबार सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक डाकेका थिए ।
बैठकमा उनले सरकारका विरुद्ध बाहिर असन्तुष्टि प्रकट नगर्ने वातावरणका लागि सत्ता साझेदार दलका नेताहरुलाई आग्रह गरेका थिए । खासगरी सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका सांसदहरुले अध्यादेशको विरोध गर्दै आएका छन् ।
आउँदो १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।














