पोखरामा सुरुभयो ‘घर-घरमा प्रहरी’ अभियान (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।

कुनैपनि ब्याक्तिले स्वयं आफु उपस्थित नभइ आधुनिक प्रविधीको माध्यामबाट आफ्नो गुनासो वा समस्या समाधान गराउने उद्देश्यले कास्कीमा घरघरमा प्रहरी अभियान शुरु गरेको छ । कुनैपनि ब्याक्तिलाई कुनै समस्या वा गुनासो भए प्रहरी कार्यालयमा नपुगी आफ्नो मोवाइलबाट क्यू आर कोडको माध्यामबाट नजिकै रहेको प्रहरी कार्यालयमा गुनासो टिपाउन सकिने छ ।

वडा प्रहरी कार्यालय बैदामबाट शुरु भएको उक्त अभियान कास्कीभर सञ्चालन हुने छ । उक्त अभियानको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन ।

कार्यक्रममा बोल्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले पोखरा–बैदामबाट शुरु भएको यो अभियान भविष्यमा कास्की जिल्लाभर सञ्चालन गरिने बताए । बैदाम प्रहरीको सकारात्मक कदम यहाँबाट शुरु गरिएपनि जिल्लाभर पु¥याइने बताउदै ओलियाले घरदैलो गर्दै कास्कीबासीको घरघरमा प्रहरी पुगेपछि यसले प्रहरीलाई हेर्ने दृष्टिकोणपनि थप सकारात्मक बन्ने र शान्ति सुरक्षापनि कायम हुुनेमा विश्वास ब्यक्त गरे ।

पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले देशकै पर्यटकीय राजधानी घोषित पोखरामा प्रहरीको यो अभियानले नागरिक सुरक्षाको प्रत्याभूति दिने बताए । पर्यटन क्षेत्र सुरक्षीत रहेको सन्देश जाने र ढुक्क हुने अवस्था निर्माण हुने अपेक्षा गरे । विगतमा मुस्कानसहितको सेवा र प्रहरी मेरो साथी अभियान चलाएको प्रहरीले अहिले घरघरमा प्रहरी अभियान चलाएकामा उनले प्रहरीको प्रशंसा गरे । महानगर र वडा प्रहरीको साथमा रहेको उनको भनाई थियो ।

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले अभियान शान्ति सुरक्षा कायम गर्न कोशेढुंगाा सावित हुने विश्वास व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले व्यवसाय प्रवद्र्धन, शान्ति सुरक्षा तथा नागरिकको अमनचयन कायम गर्न गरिने जुनसुकै अभियानमा आफूहरुको सहयोग रहने बताए ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिलाउन बैदाम प्रहरीले थालेको अभियान सराहनीय रहेको बताए । केहि प्रहरी अधिकृतले पोखरामा आएर व्यवसायी र नागरिकलाई धम्की दिने र आतंकित बनाउने गरेको गुनासो गर्दै उनले भने,‘कोहिचाहिं कहिले आउनु हुन्छ र कहिले जानु भयो भन्नेसमेत थाहा हुँदैन । तर कसैले भने यस्तै उदाहरणीय कार्य गर्नुहुन्छ र पछिसम्म सम्झिरहने बन्नुहुन्छ ।’ उनले यसका लागि संघको तर्फबाट १० हजार स्टिकर प्रदान गर्ने घोषणा गरे ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराका उपाध्यक्ष वसन्त गौतमलेपनि अभियान सकारात्मक रहेको भन्दै १० हजार स्टिकर प्रदान गर्ने घोषणा गरे । पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले अपराध नियन्त्रणमा अभियान कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनलेपनि ट्याक्सी सेवा प्रालिको तर्फबाट ५ हजार स्टिकर प्रदान गर्ने बताए । सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीका अध्यक्ष भीमप्रसाद पराजुलीले श्रोत साधनको अभावमा प्रहरीले सेवा दिन नसकेको भन्ने परिस्थिति नआउनेतर्फ सबै सचेत हुनुपर्ने बताए ।

होटल प्रतिनिधि समाज पोखराका अध्यक्ष माधव लम्सालले यस्तो अभियान देशैभर सञ्चालन गरिनुपर्ने भन्दै यसका लागि तत्काल १० हजार स्टिकर दिने घोषणा गरे । उनले देशैभर सञ्चालन गरे आगामी दिनमा थप १० हजार स्टिकर दिने बताए ।

लेकसाईड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटाले लेकसाईडमा घटना घट्नै नदिन अभियान कामयावी बन्ने विश्वास व्यक्त गरे । उनलेपनि अभियान जिल्लाभर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

अभियान अन्तर्गत प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर–६ का सबै वडाबासीको घर घरमा पुगेर प्रहरीको स्क्यान गर्न मिल्ने स्टिकर टाँस गर्नेछ । जुन स्क्यान गरेर परिवारका सदस्य वा पर्यटकले प्रहरीमा आफूलाई परेको समस्या तत्काल जानकारी गराउन वा गुनासो टिपाउन सक्ने वडा प्रहरी कार्यालय बैदामा ईञ्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष निरौलाले जानकारी दिए ।

पोखरा–६ बैदाममा ४९ हजार ९ सय ४६ घर परिवार रहेको र ती सबै घरमा दुई महिना भित्र स्टिकर टाँसिसक्ने बताउँदै निरौलाले स्क्यान गरेर वडाबासीले हामीलाई आफ्नो समस्या र गुनासो राख्न सक्ने र समस्या वा गुनासो आएमा तत्काल समाधानका लागि छुट्टै युनिट खटाइने बताए ।

  • १४ माघ २०८१, सोमबार १९:३० प्रकाशित