सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु

केन्द्रभाग मिडिया

पाल्पा ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका ३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग छिचोलिएको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरेपछि सुरुङमार्गको ब्रेकथ्रु भएको हो । यसअघि प्रधानमन्त्री ओली भौतिक रूपमै उपस्थित हुने योजना भए पनि अन्तिम समयमा स्वास्थ्य अवस्थाका कारण भर्चुअल रूपमा ब्रेक थ्रु गरिएको हो ।

ब्रेक थ्रुका लागि सुरुङको उत्तर र दक्षिण भाग जोड्न १.८ मिटरमात्रै बाँकी थियो । ब्रेक थ्रु कार्यक्रममा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मालगायतको उपस्थिति थियो । सिद्धबाबा सुरुङ्मार्ग आयोजना कार्यालयका अनुसार ब्रेक थ्रु हुँदा भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत पुगेको छ ।

आयोजनाअन्तर्गत २ लेनको मुख्य सुरुङमार्ग १ हजार ८९ मिटर लम्बाइको निर्माण गरिएको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए । यसको मुख्य सुरुङमार्गको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहने उनले बताए । लाइनिङसहित यो सुरुङमार्गको कुल लम्बाइ १ हजार १२६ मिटर हुनेछ ।

  • ११ माघ २०८१, शुक्रबार १६:४५ प्रकाशित