मौसम पूर्वानुमान

यी स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली, कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

  • १० माघ २०८१, बिहीबार ०७:०५ प्रकाशित