टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

symbolic picture

काठमाडौं ।

टर्कीमा आगलागीमा परि ७६ जनाको ज्यान गएको छ ।

उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको ज्यान गएको र ५० भन्दा बढी घाइते भएको अन्र्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । त्यतिबेला होटलमा २३४ गेष्ट रहेको बताइएको छ ।

आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका थिए । होटलबाट हामफाल्दा दुई जनाको ज्यान गएको थियो । अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको थियो ।

आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो । त्यसैले धेरैलाई होटलभित्रै पनि बाहिर निस्किने बाटो पहिल्याउन कठिन भएको थियो । स्थानीय मिडियाहरुका अनुसार आगो लाग्दा पनि चेतावनीको साइरन बजेको थिएन ।

टर्कीका गृहमन्त्री अलि येरलिकायाले घटनास्थलको निरीक्षणपछि ७६ जनाको मृत्यु र कम्तिमा ५० जना घाइते भएको जानकारी पत्रकारहरुलाई दिएका छन् ।

  • ९ माघ २०८१, बुधबार ०९:२१ प्रकाशित