बुटवल ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले पूर्व गृहमन्त्री रवि लामिछानेसहित २२ जना विरुद्धको मुद्दा जिल्ला अदालतमा पठाएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी पूरक मुद्दा आइतबार जिल्ला अदालतमा पठाएको हो ।
पूरक अभियोजन अन्तर्गत २२ जनाविरुद्ध मुद्दा दर्ता गर्नका लागि अदालतमा पठाएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख प्रेमराज पौडेलले बताए ।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछाने, पूर्व डीआइजी छविलाल जोशीसहित १४ जनालाई मुद्दा चलाउन राय सहितको प्रतिवेदन गत शुक्रवार प्रहरीले बुझाएको थियो ।
सोही आधारमा मुद्दा दायरको प्रक्रिया अगाडि बढाएको हो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले सबै कागज हेर्दा केही घण्टा लाग्ने बताए ।
प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा ९सामूहिक० २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ ।
त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख र मिडियाको नाममा ९सामूहिक० १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको स्रोतको भनाई छ । यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।














