पोखरा ।
डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानको लागि प्रहरी हिरासतमा रहेका बेला गत २९ मंसिरमा सुतिरहेको तस्वीर खिचेर सार्वजनिक गरेपछि भुसाल पक्राउ परेका थिए ।
विद्युतीय कारोबार ऐनविरुद्धको कसुर ९साइबर अपराध० को कसुरमा बिहीबार पक्राउ गरी शुक्रबार उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस भएको थियो ।
न्यायाधीश शंकरबहादुर राईको इजलासले डा। भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गरेको थियो ।
यसअघि ७ पुसमा पक्राउ गरी त्यसको भोलिपल्ट पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो । प्रहरी अनुसन्धानका क्रममा तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अभियोजन पत्र दर्ता गर्दै डा। भुसाललाई अदालत उपस्थित गराइएको थियो ।
विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजन समेतमा आँच पुर्याउने, गोपनीयता भंग हुने सामग्री प्रकाशन गरी सुरक्षामा प्रभाव पार्ने काम गरेको हुँदा कानुनअनुसार कारबाही हुनुपर्ने अभियोग भुसालमाथि लगाइएको थियो ।














