पोखरा ।
कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन् । अध्यादेश मार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था लागू गरेको विरोधमा उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरुले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइमार्फत शिक्षा मन्त्रालयमा राजीनामा पेस गरेका छन् ।पीडित शिक्षक कीर्तिराज ढकालले सरकारले दिएको पीडा सहन नसकेर राजीनामा दिएको बताए ।
२०७४ चैत्र ०४ गतेबाट हालसम्म स्थायी नियुक्ति लिएका शिक्षकहरूमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरेको पीडित शिक्षकहरुको गुनासो छ । ‘प्राकृतिक न्यायको सिद्धान्त विपरित भूतप्रभावी कानुनको निर्माण गरी अध्यादेश जारी गरिएको अवस्था छ,’ उनीहरुले भने, ‘अध्यादेशको कार्यान्वयनले ६ वर्ष खाइपाई आएको तलबबाट समेत हिसाब गरी निवृत्तिभरण कोषमा दाखिला गर्नुपर्ने भएको छ ।’
राजीनामा स्वीकृत नहुँदासम्म पठनपाठन भने नरोक्ने उनीहरुले बताएका छन् । सामूहिक राजीनामा बुझेपछि कास्कीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्यले राजीनामा–पत्र सम्बन्धित निकायमा पठाउने जानकारी दिए । सरकारले ल्याएको केही नेपाल ऐन संशोधन अध्यादेशसहित ४ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पुस २९ गते जारी गरेका थिए ।















