पोखरा ।
ठुलो मानवीय क्षति हुने गरि पोखरामा भएको यति एयरलायन्स दुर्घटनाको आज दुई वर्ष पुरा भएको छ ।
ठिक दुई वर्षअघि आज कै दिन(२०७९ माघ १ गते) पोखरामा यति एयरलाइन्सको (एन एएनसी कलसाइनको एटिआर ७२–५०)सिरिजको जहाज दुर्घटनामा परेको थियो। बिहान १० बजेर ५८ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अन्तिम तयारीमा रहेको जहाज एकाएक पोखरा महानगरपालिका– ७ र १५ को बीचमा पर्ने मितेरी पुलनजिकै सेती खोचमा खसेर दुर्घटनाग्रस्त हुँदा चालक दलका चार र ६८ जना यात्रुसहित ७२ जनाको ज्यान गएको थियो।
हवाई दुर्घटनामा आफ्ना प्रियजनलाई गुमाएका आफन्तहरु आज दुर्घटना स्थलमा गई मृतकहरुको सम्झना गरेका छन् । मृतकहरुको आत्माको शान्तिका लागि आफ्न्तहरुले आ–आफ्नो संस्कार संस्कृति अनुसार पुजापाठ, धुपबत्ती बाल्ने तथा प्रार्थना गरेका छन् । दुर्घटनाको दुई वर्ष बितिसक्दा पनि मृतकहरुका आफन्तका आँखा भने ओभाएका छैनन् ।
दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा गत वर्ष नै पोखरा महानगरपालिकाको पहलमा स्मृति स्तम्भ निर्माण गरिएको छ। उक्त स्तम्भमा ५७ नेपाली र १५ विदेशीको नाम अंकित छ। उक्त स्तम्भ अनावरण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सोही ठाउँमा झोलुंगे पुल र पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए तर दुई वर्ष लागिसक्दा नि निर्माणको थालनी भने भएको छैन।
पर्यटन क्षेत्रमा विशेषगरी त्यो दुर्घटनाले असर पारेको पर्यटन व्यवसायीहरु बताउँछन् ।