आज माघे सक्रान्ति, घ्यू, चाकु, तिलका परिकार र खिचडी खाएर मनाईंदै

केन्द्रभाग मिडिया

पोखरा ।

आज घ्यू चाकु, तिलका परिकार र खिचडी खाएर माघे सक्रान्ति मनाईंदै छ ।  यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो र खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने धार्मिक विश्वास छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर पनि सक्रान्ति भनिन्छ । १ साउनमा शुरु भएको दक्षिणायन अन्त्य भई १ माघमा उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् ।

उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ । यसैगरी पोखराको ढुंगेसाँघुमा परम्परागत मेला लाग्दैछ ।

  • १ माघ २०८१, मंगलवार ०६:२२ प्रकाशित