रास्वपा सभापति लामिछाने कम्तीमा बुधबारसम्म हिरासतमा बस्नुपर्ने

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अब कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । थुनछेक बहस नसकिएपछि मंगलबार सार्वजनिक विदा रहेकाले उनी बुधबारसम्म हिरासतमा बस्नुपर्ने भएको हो । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस भने जारी छ ।

थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाएको हो । सरकारी वकिलको कार्यालयका तर्फबाट बहस सकिए पनि लामिछानेका तर्फका वकिलको बहस नसिएकाले बुधबार पुनः थुनछेक बहस हुनेछ । जाहेरवालाको तर्फबाट केही वकिलले बहस गरे पनि केहीको बहस भने बाँकी छ ।

लामिछानेविरुद्ध काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । उनी आइतबार बिहान अदालतमा उपस्थित भएका हुन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ आएर प्रहरीको सम्पर्कमा थिए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए ।

  • २९ पुष २०८१, सोमबार १८:०० प्रकाशित