‘सिक्लेस माघे सक्रान्ति मेला’ को तयारी अन्तिम चरणमा

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की जिल्ला मादी गाउँपालिका वडा नम्बर १ मा रहेको पर्यटकीय गाउँ सिक्लेसमा हुने ‘सिक्लेस माघे सक्रान्ति मेला २०८१’ को तयारी अन्तिम चरणमा पुगेको आयोजक सिक्लेस युवा क्लबले जानकारी दिएको छ ।

‘ग्रामिण पर्यटन प्रर्वद्धनका लागि सिक्लेस माघे संक्रान्ति मेला’ भन्ने नारासहित यहि माघ १ देखि ४ गतेसम्म हुने मेलाको तयारी अन्तिम चरणमा रहेको आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

मेलाको अवसरमा खुल्ला पुरुष तथा महिला भलिबल, पुरुष बास्केटबल, गुरुङ गीतमा सामुहिक नृत्य प्रतियोगिता लगायत लोपोन्मुख स्थानीय खेलकुद प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने सिक्लेस युवा क्लबका अध्यक्ष भोलामान गुरुङले जानकारी दिए ।

खुल्ला पुरुष भलिबल र बास्केटबल प्रतियोगिताको दर्ता शुल्क ७ हजार, खुल्ला महिला भलिबल र गुरुङ भाषा गीतमा सामुहिक नृत्य प्रतियोगिताको दर्ता शुल्क समान ३ हजार रहेको आयोजकले बताएको छ ।

खुल्ला पुरुष भलिबल प्रतियोगितामा र खुल्ला पुरुष बास्केटबलमा प्रथम हुनेले समान नगद १ लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र र द्धितीय हुनेले ७० हजार साथमा ट्रफी, मेडल, तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै खुल्ला महिला भलिबल प्रतियोगिताको विजेताले ३० हजार, द्धितीय हुनेले नगद २० हजार साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

गुरुङ भाषा गीतमा सामुहिक नृत्य प्रतियागितामा प्रथम हुनेले ६० हजार, द्धितीय हुनेले ४५ हजार र तृतीय हुनेले ३० हजार साथमा ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट भेषभुष गर्नेले ५ हजार र उत्कृष्ट नृत्य निर्देशकले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबले जानकारी दिएको छ ।

परम्परागत रुपमा मानिदैँ र पुजिदैं आएको स्थानीय तिर्थ स्थलहरु ‘म्हउदु क्युफी’ को प्रचारप्रसार, संरक्षण र विकास गर्ने, आन्तरिक एवम् वाह्य पर्यटन प्रवैद्धनात्मक कार्यक्रमलाई सहयोग पुर्याउने, खेलकुदमार्फत आपसीभाइचारा स्थापित गराउने, नेपालकै कम उचाईमा अवस्थित क्हफुचे हिमताल, कोरी लेक साथै स्थानीय पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा टेवा पुर्याउने मेलाको मुख्य उद्धेश्य रहेको आयोजकले बताएको छ । यस्तै युवाहरुको वृहत्तर विकास र खेल तालिम प्रदान गर्ने उद्धेश्य रहेको छ ।

मेलामा रस्साकस्सी प्रतियोगिता साथमा विविध साँस्कृतिक कार्यक्रमहरु र मनोरञ्जनात्मक खेलहरु हुने भएको छ ।मेला सम्पन्न गर्न ११ लाख ३० हजार खर्च लाग्ने र १३ लाख ५ हजार आम्दानी हुने आयोजकको अनुमान रहेको छ ।

  • २८ पुष २०८१, आईतवार ११:०३ प्रकाशित