विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण

केन्द्रभाग मिडिया

पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ ।

विद्यालयको ७८ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद सप्ताह अन्तर्गत विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुन सफल विद्यार्थीलाई विहीवार पुरस्कार वितरण गरिएको खेलकुद संयोजक निर्मल भण्डारीले जानकारी दिए।

विजयी विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री कुमार खड्का, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य मेहरमान नेपाली, विमला अधिकारी, ईन्दु भट्टराई लगायतकाले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे ।कार्यक्रममा पुर्व मन्त्री खड्काले विद्यालयको शैक्षिक सफलता लोभ लाग्दो रहेको वताउँदै, शैक्षिक सिकाईको अनुभव आदान प्रदान गर्न सुझाव दिए ।

विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले सबैको सम्वनयवाट नै विद्यालयले सफलता हासिल गरेको बताए । कार्यक्रममा विद्याथीले नेपालमा प्रचलित विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

दुई दिनसम्म भएको पुरस्कार वितरण कार्यक्रमको संचालन लेखा प्रमुख भीम वहादुर गायकले गरेका थिए । वार्षिकोत्सवकै पुर्व सन्ध्यामा शुक्रवार विद्यालयले पाँचौ संस्करणको रक्तदान कार्यक्रम समेत गर्ने भएको छ ।

रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग, विद्यालयमा गठित रेडक्रस सर्कल र रेडक्रस सोसाईटी पोखरा १६ उपशाखाको सहयोगमा विद्यालय परिसरमा विहान हुने कार्यक्रमको तयारी पुरा भएको संयोजक शिक्षक विष्णु प्रसाद पौडेलले जानकारी दिए । पोखरामा देखिएको रगतको अभावलाई केही हदसम्म न्युनिकरण गर्न सहयोग पुर्याउने हुँदा सो कार्यक्रममा सहभागी भईदिन विद्यालयले आग्रह समेत गरेको छ ।सोही दिन विज्ञान तथा प्रविधी प्रर्दशनी समेत गरिने वताईएको छ ।

शनिवार वार्षिकोत्सवको मुल कार्यक्रम हुने र सो कार्यक्रममा विभिन्न अक्षयकोषको पुरस्कार वितरण, अक्षयकोषदाता, उत्कृष्ट शिक्षक, कर्मचारी सम्मान सहित साँस्कृतिक कार्यक्रम गरिने विद्यालयले जनाएको छ । करिव १ हजार ५ सय विद्यार्थी अध्ययनरत सो विद्यालय, सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट विद्यालयको रुपमा नेपाल सरकारवाट सम्मानित भई सकेको छ ।

  • २५ पुष २०८१, बिहीबार १७:१७ प्रकाशित