काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई उपचार खर्चमा छुट दिलाउने गृहकार्य अघि बढाएको छ । निजामती कर्मचारीहरूले उपचार खर्चमा छुट पाउँदै आएका छन् । तर, शिक्षकहरू भने त्यो सुविधाबाट वञ्चित छन् ।
शिक्षा मन्त्रालयले निजामती कर्मचारी सरह शिक्षकहरूलाई समेत स्वास्थ्य उपचारमा छुट दिलाउने गरी गृहकार्य अघि बढाएको हो ।
त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राय सुझावका लागि फाइल पेस गरिएको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन् । करिब एक महिना अघि शिक्षा मन्त्रालयले राय सुझावसहितको मागका लागि पत्राचार गरेको थियो ।
‘शिक्षकहरूलाई उपचारमा छुट दिनुपर्छ भनेका छौँ । जसरी निजामती कर्मचारीलाई उपचारमा छुट दिइन्छ, त्यसरी नै शिक्षकहरूलाई छुट दिनुपर्छ भनेका थियौँ । स्वास्थ्य मन्त्रालयले त्यही आधारमा राय दिने भनेका छन् । स्वास्थ्य मन्त्रालयको राय आएपछि त्यही अनुसार अर्थ मन्त्रालयमा पठाउँछौँ । यो प्रक्रिया पनि अगाडि बढाउँछौँ,’ शिक्षामन्त्री भट्टराईले भनिन् ।