पोखरा ।
पोखरेली ट्याक्सी सेवा प्रालिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका विभिन्न ठाउँमा पुग्दा लाग्ने भाडादर निर्धारण गरेको छ । विमानस्थल झरेका यात्रु ट्याक्सी चढ्दा ठगिएका गुनासो बढेसंगै यात्रु र व्यवसायी दुबैलाई मध्यनजर गरेर भाडादर निर्धारण गरिएको पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष सोभाकान्त पौडेलले जानकारी दिए ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुबद्ध अन्तर्राष्ट्रि विमानस्थललाई समेत आधार मानेर ति विमानस्थल भन्दा अझ सौलियत दरमामा भाडा निर्धारण भएको बताए । निर्धारण गरिएको भाडादर गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरिएको र प्रदेश सरकारले नै त्यसलाई अनुमोदन गर्ने तयारीमा रहेको उनले उल्लेख गरेका छन् ।
पोखरेली ट्याक्सी सेवा प्रालिले निर्धारण गरेर मन्त्रालय पेश गरेको भाडा दर अनुसार एयरपोर्टबाट अम्मरसिंहचोक (२.६ किलोमिटर) को ५०० रुपैयाँ, पृथ्वीचोक (४.२ किलोमिटर) को ५५० रुपैयाँ, मुस्ताङचोक (५.६ किलोमिटर) सम्मको ६०० रुपैयाँ, विरौटाचोक (६.६ किलोमिटर) सम्मको ६८० रुपैयाँ, छोरेपाटन (९.९ किलोमिटर) सम्मको ८२० रुपैयाँ र पोखरा विमानस्थलबाट मुस्ताङचोक हुँदै लेकसाईड (८.९ किलोमिटर) सम्मको ८०० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी एयरपोर्टबाट जिरो किलोमिटर (५.४ किलोमिटर) सम्मको ६०० रुपैयाँ, जिरो हुँदै खहरेचोक (७.६ किलोमिटर) सम्मको ८०० रुपैयाँ, विमानस्थलबाट पृथ्वीचोक हुँदै महेन्द्रपुल (५.८ किलोमिटर) सम्मको ६७५ रुपैयाँ, एयरपोर्टबाट रानीपौवा हुँदै महेन्द्रपुल (५.२ किलोमिटर) सम्मको ६२५ रुपैयाँ, लामाचौर (१०.४ किलोमिटर) सम्मको ८५५ रुपैयाँ, एयरपोर्टबाट जिरो हुँदै बाग्लुङ बसपार्क (७.७ किलोमिटर) सम्मको ७७५ रुपैयाँ, जिरो किलोमिटर हुँदै हरिचोक (९ किलोमिटर) सम्मको ८२० रुपैयाँ भाडादर निर्धारण गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
उनका अनुसार एयरपोर्टबाट तालचोक लेखनाथ (८.८ किलोमिटर) सम्मको ८०० रुपैयाँ, बेगनास ताल (११.८ किलोमिटर) सम्मको एक हजार रुपैयाँ निर्धारण भएको छ ।
दृष्टिविहिनलाई निशुल्क सेवा
पोखरेली ट्याक्सी सेवा प्रालिमा आवद्ध एयरपोर्ट ट्याक्सी सेवा केन्द्रले पोखरा विमानस्थल ओर्लने जोसुकै दृष्टिविहिन यात्रुलाई पोखरा महानगर भित्र निशुल्क सेवा दिन सुरु गरेको छ । ट्याक्सी सेवा दिने स्थल सहरी क्षेत्र भए स्वयम ट्याक्सी धनी र थोरै टाढा पुग्नु परे केही लागत कम्पनीले नै बेहोर्नेगरी सेवा सुरु गरिएको प्रालिका अध्यक्ष सोभाकान्त पौडेलले जानकारी दिए ।
ट्याक्सी सेवा सेवामुलक व्यवसाय भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सेवा प्रदान गरिएको उनले बताए । ‘हाम्रो व्यवसाय सेवामुलक हो । सेवा गरेरै मुनाफा कमाउने उत्तरदायित्व बोकेको सेवा भएकाले हामीले दृष्टिबिहिनलाई पोखरा विमानस्थलबाट पोखरा भित्रका निवास भएको ठाउँसम्म पुर्याउने सेवा दिन सुरु गरेका हौं’ उनले भने ।