शीर्ष नेता संघीयताप्रति उदार छैनौँ : गगन थापा

केन्द्रभाग मिडिया

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन्।

मंगलबार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषयक अन्तर्क्रिया कार्यक्रममा महामन्त्री थापाले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू संघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताएका हुन्।

संघीयताप्रति अनुदार भएर विकासका कामहरू हुन नसक्ने उनको भनाइ थियो। संघीयतासम्बन्धी कानुन बनेनन् भने सरकारबाट बाहिरिन्छु भन्ने कुरा नयाँ र क्षेत्रीय दलहरूले समेत भन्न नसकेको टिप्पणी पनि उनले गरे।

उनले भने, ‘हामी राजनीतिक दलका नेताहरू, म पनि हो त्यसमा, जसले यो शासकीय जिम्मेवारी लिन्छौँ, हामी कोही पनि संघीयताप्रति उदार छैनौँ। हामी एकदमै अनुदार छौँ। हाम्रो यसमा रुचि छैन। मैले नयाँ दल पनि हेरेँ। क्षेत्रीय दलहरू पनि हेरेँ। सँगै सरकारमा पनि बस्यौँ। जसले बाहिर जेजे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि सर्त राख्दैन। निजामती विधेकय र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर आजसम्म कसैले भनेको सुनेको छैन। कसैले भन्दैन। सबैले बाहिर भन्छन्, सरकार चलाउने ठाउँमा गइसकेपछि अधिकारलाई कसरी मुठीमा राखिराख्ने भन्नेमै हुन्छौँ। सबै मिल्छौँ हामी । यसले गर्दा दुर्घटना हुने भयो। संघीयता नेपालमा अनवरत चल्छ। प्रदेशहरू रही नै राख्छन्। यो संवैधानिक व्यवस्थाको सबै हामी पक्षमा छौँ। तर हामी प्रदेशहरूलाई, सिंगो संघीय व्यवस्थालाई स्थानीय सरकार पनि यो भित्र पर्छ। हामी यसलाई फङ्सनल बनाउनेवाला भएनौँ अब। यसलाई प्रभावकारी बनाउने भएनौँ। रिजल्ट ओरियन्टेट बनाउने भएनौँ। यसबाट परिणाम नआउने भयो।’

  • २३ पुष २०८१, मंगलवार १६:१० प्रकाशित