राज्य व्यवस्था समितिमा ९२ उजुरी, ५८ वटा दर्ता

केन्द्रभाग मिडिया

काठमाडौँ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी पुगेका छन् । त्यसमध्ये ५८ वटा दर्ता भएका र बाँकी ३४ वटा अध्ययनका क्रममा रहेको समितिले जनाएको छ । विभिन्न उजुरीमाथि छलफल गर्न सोमबार बसेको समितिको बैठकमा उजुरीबारे जानकारी दिइएको हो ।

समिति बैठकमा एमाले सांसद रघुजी पन्तले नियमावली भित्र रहेर आएका उजुरीलाई लिन उचित नहोला कि भनेर प्रश्न गरे । उनले भने, ‘सुशासनसँग सम्बन्धित छ भने पनि सम्बन्धित समितिलाई हेर्न दिदा उपयुक्त होला । कार्यक्षेत्र कति हो कतिसम्मको उजुरी लिएर एड्रेस गर्न सक्छौं त्यसबारे मनन गर्नुपर्छ ।’

राप्रपा सांसद बुद्धिमान तामाङले सरकारले गरेको काम कामकारबाहीमा सुझाव दिनपर्ने तर समितिले निर्देशन दिन नसक्ने बताए । त्यस्तै लोसपा सांसद सर्वेन्द्रनाथ शुक्लले उजुरी हेर्ने जिम्मा उपसमितिलाई दिनुपर्ने भन्दै टुंगोमा पुग्न सकिँदैन भने त्यस्ता उजुरीमा जोड गर्न नहुने बताए ।

जसपा सांसद अशोक राईले समितिले उजुरी हेरेर पार लगाउन अवस्था नहुने धारणा राखे ।

  • २२ पुष २०८१, सोमबार १६:३९ प्रकाशित