एमालेले पार्टी विरुद्धको भ्रम चिर्न ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेले पार्टीविरुद्धको भ्रम चिर्न र संगठनन विस्तार गर्न ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने भएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पेस गरेको सांगठानिक प्रतिवेदनमा आगामी माघ महिनादेखि सुरु गर्ने तीन महिने वडा केन्द्रित कार्यक्रममा ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने प्रस्ताव गरिएको हो ।

‘अभियानबाट भौगोलिक र गैर–भौगोलिक करिब ८ हजार वडारशाखा तहका कमिटीहरु, टोल तथा प्रारम्भिक कमिटी स्तरका १० हजारभन्दा बढी कमिटीहरूको क्रियाशीलता बढाइ राष्ट्रिय रूपमा ३ लाखभन्दा बढी नेता कार्यकर्ता पार्टी तथा जनसंगठन निर्माण, जनपरिचालन र पार्टी र नेतृत्वविरुद्धका भ्रामक प्रचारको प्रतिवाद गर्न परिचालित हुने अपेक्षा लिइएको छ’, प्रतिवेदनमा भनिएको छ ।

वडा केन्द्रित अभियानको उद्देश्य जग तहमा पार्टी सदस्यता नवीकरण तथा विस्तार, संगठन निर्माण र सबलीकरण रहेको उल्लेख छ ।

जस अन्तर्गत एमालेले पार्टी जिल्ला कमिटीको निर्णयले २०८२ का लागि योग्य ठहरिएका सबै पार्टी सदस्यहरूले चैतभित्रै नवीकरण गर्ने र दुई लाख नयाँ सदस्यहरू थप हुने विश्वास गरेको छ ।

अभियान अन्तर्गत हाल रहेको ७ हजार ५ सय ९ वडा स्तरको कमिटीमा थप ५ सय शाखा तथा वडास्तरका कमिटीहरू गठन गर्ने र अधिवेशन बाँकी रहेका सबै वडास्तरका कमिटीहरूको अधिवेशन चैत मसान्तभित्र सम्पन्न गर्ने अधिकारीको प्रतिवेदनमा उल्लेख छ ।

हाल रहेका टोलस्तरका कमिटीमा ५ हजार टोलस्तरका कमिटीहरू थप निर्माण गर्ने पनि एमालेले जनाएको छ ।

उद्देश्य २ अन्तर्गत एमालेले जनसंगठनका स्थानीय अधिवेशन सबै सम्पन्न गरेर सम्बन्धित जनसंगठनको विधान बमोजिम वडा तहमा कमिटीहरू बन्दा सबै जनसंगठनको सदस्यताको अभिलेख व्यवस्थित हुनुका साथै हालको संख्यामा कम्तीमा ७ लाख सदस्य थपिने अपेक्षा गरेको छ ।

त्यस्तै उद्देश्य ३ अन्तर्गत पार्टीको नीति र नेतृत्वविरुद्ध फैलाइने सबै प्रकारका भ्रम र राष्ट्रिय निराशा फैलाउने सबैखाले प्रयत्नहरुको तत्काल प्रभावकारी प्रतिवाद गर्ने एक लाख सन्देशहरू प्रवाह गर्ने भएको छ ।

  • २१ पुष २०८१, आईतवार १६:४३ प्रकाशित