पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वसामु नयाँ चुनौतीका रूपमा देखापरेको आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
कोपिला नेपालको आयोजनामा पोखरामा आयोजित ‘दक्षिण एशियामा आधुनिक दासत्व र मानव ओसारपसारका विरुद्ध तीन दिवसीय क्षेत्रीय सम्मेलन’ को समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि भट्टले मानव बेचबिखन तथा ओसारपसार एक गम्भीर सामाजिक तथा मानवता बिरुद्धको विश्वव्यापी समस्या रहेको उल्लेख गरे ।
उनले शुरुमा मानव बेचविखन दास र बधुवा श्रमिक वा यौनदासीको रुपमा मात्र सीमित रहेको आजको युगमा आधुनिक दासताका रुपमा देखा परेको बताए । मानव बेचबिखन तथा ओसारपसारको समस्यामा विशेष गरी बालिका र महिला प्रभावित भएको भन्दै उनले आधुनिक दासतालाई रोक्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रयत्न भइरहेको बताए ।
मानवअधिकार विरुद्धको कार्यलाई रोक्न समाजले सकारात्मक भूमिका निर्वाह गर्न जरुरी रहेको उल्लेख गर्दै उनले पीडित तथा प्रभावितलाई सम्मानपूर्ण जीवनयापनका लागि उपयुक्त वातावरण सिर्जना गर्न सरकारका साथै नागरिक समाज र सबै सरोकारवालाले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।
यो सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै बालबालिका तथा लैंगिक समानता सम्बन्धी नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरु लाभान्वित हुने, नेपालका संघसंस्थाहरुले गरेको अभियान र प्रगति अन्तर्राष्ट्रियकरण गर्नमा सहयोग पुग्ने अपेक्षा पनि उनले गरे ।
‘चेतनाको अभाव, गरिबी, समाजमा विद्यमान असमानता, विभेद, शोषण, बेरोजगारी, लैंगिक विभेद, पारिवारिक हिंसा र अशिक्षा नै मानव बेचबिखन तथा ओसारपसारका प्रमुख कारणहरु हुन् ।’ – प्रदेश प्रमुख भट्टले भने– ‘विश्वसामु आधुनिक दासत्वको अँध्यारो पक्षसँग कसरी लड्ने भन्ने गम्भीर चुनौतीपूर्ण प्रश्न तेर्सिएको छ । नेपाल र तेस्रो विश्वका अन्य मुलुकका लागि त झन् यो भयावह रूपमा देखापरेको छ ।’
मानव बेचविखन विरुद्ध जनचेतना वृद्धि गर्ने उद्देश्य राखिएको यस सम्मेलन दक्षिण एशियाली मुलुका अभियानकर्मीबीच आपसी सिकाई र राम्रो अभ्यासहरूको आदानप्रदानका लागि फलदायी बन्ने विश्वास व्यक्त गरे । उनले भने – ‘दासत्व र मानव बेचविखन विरुद्ध साझा सञ्जाल निर्माण गर्न र सरोकारवालाबीच संवादलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम लाभदायक रहनेछ ।’
कार्यक्रममा गण्डकी प्रदेशसभा सांसद सरस्वती गुरुङले मानवबेचबिखन नियन्त्रणको लागि जनचेतना नै आवश्यक रहेको बताए ।त्यस्तै अर्का सांसद नन्दकला नेपालीले महिला र बालबालिकामा सो समस्या देखिएकोप्रति चिन्ता व्यक्त गरे ।
जिल्ला समन्वय समितिका अध्यक्ष लिलाधर पौडेलले समाज नै जागरुक भएर लागेमा यस्ता घटना कम हुने बताए ।संस्थाका सल्लाहकार प्रकाश वाग्लेले यसका स्टेकहोल्डर र सरकारी निकायहरु अझै चनाखो हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले दक्षिण एसियामा नै यो समस्या विकराल बन्दै गएकाले न्युनिकरणको लागि मिडियालाई सशक्त बनाएर लैजानुपर्ने बताए ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव विनोदविन्दु शर्मा, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु, सम्बन्धित निकायका प्रतिनिधिहरुले आधुनिक दासत्व र मानववेचविखनको बारेमा बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष लक्ष्मी शाहीको अध्यक्षतामा भएको सो सम्मेलनमा छिमेकी मित्र राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायत विभिन्न मुलुकहरुमा सामाजिक तथा बालबालिकाका क्षेत्रमा कार्यरत अभियानकर्मीको सहभागिता रहेको छ ।
वाक फ्री र आईएलओको पछिल्लो प्रतिवेदन अनुसार संसारभर ५ करोड मानिस आधुनिक दासका रूपमा बाँचिरहेका छन् । मानवअधिकार आयोगको मानव बेचबिखनविरुद्धको प्रतिवेदन अनुसार नेपालमा वार्षिक करिब ३५ हजार व्यक्ति बेचिने गरेका छन् ।