काठमाडौँ ।
सरकारले सुदूरपश्चिम र जाजरकोटमा गएको भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन (डीडीए) गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकले सुदूरपश्चिम र जाजरकोटमा बाढी र भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले बैठकले गत असोजमा काठमाडौँ लगायतका क्षेत्रमा आएको बाढी, पहिरोको क्षतिको विस्तृत मूल्याङ्कन(डीडीए) गर्ने निर्णय समेत गरेको बताए । उनले डीडीए सम्पन्न भइसकेका क्षेत्रहरूमा सरकारले बनाएको मापदण्डअनुसार पुनर्निर्माणको काम प्रारम्भ गर्ने निर्णय भएको समेत जनकारी दिए ।
उनकाअनुसार बैठकमा बझाङ, बाजुरा र जाजरकोटमा गएको भूकम्पले गरेको क्षति र त्यसको पुनर्निर्माणको लागि आवश्यक कानुनी एवं आर्थिक विषयमा पनि छलफल भएको छ । गृहमन्त्री लेखकले उक्त निर्णयहरू विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा पेस गरिने बताए । राष्ट्रिय परिषद्को बैठकबाट सदर भएपछि यी निर्णयहरू कार्यान्वयनको चरणमा जाने उनको भनाइ छ ।